चितवन । बेचबिखनमा परेर उद्वार गरिएका महिलाहरुको जीविकोपार्जनका लागि राप्ती नगरपालिकामा परियोजना सुरू भएको छ । राप्ती नगरपालिकाको सहकार्यमा संरक्षणका लागि एकता नेपाल नामक संस्थाले त्यस्ता महिलाहरुको जीविकोपार्जनका लागि परियोजना सुरू गरेको हो ।
पहिलो चरणमा नगरका ६० जना महिलालाई बाख्रापालनसम्बन्धी तालिम दिइने संरक्षणका लागि एकता नेपालका अध्यक्ष विमलकान्त डल्लाकोटीले जानकारी दिए ।
बेचबिखनपछि उद्वार गरिएका महिलालाई समाजमा स्थापित गराउने उद्देश्यका साथ सीप विकास तालिम दिन लागिएको उनले बताए । बेचबिखन भन्नेबित्तिकै मान्छे बेच्ने बुझ्छौँ, त्यो मात्र होइन डल्लाकोटीले भने, ‘श्रम शोषणमा परेकाहरु पनि हुन्छन् ,त्यस्ता मान्छेलाई आत्मनिर्भर बनाउन सीप प्रदान गर्ने हो । १४ दिने तालिम पुस महिनामा सञ्चालन हुनेछ ।’
परियोजनाको सुरुवात तथा नगरस्तरीय बैठकमा नगर प्रमुख शमशेर लामाले बेचबिखनका समस्या थुप्रै रहे पनि इज्जतका कारण लुकेर बसेको बताए ।
‘घटनाका पिडक खुलेयाम हिँड्छन्, पीडित पीडा लुकाएर बस्नु परेको छ’, प्रमुख लामाले भने, ‘त्यस्तो अवस्था अन्त्य गर्न सबै सरोकारवाला जिम्मेवार बन्नुपर्छ ।’
नगर प्रमुख लामाको अध्यक्षतामा बसेको बैठकमा उपप्रमुख देवेन्द्र लामा, प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले विदेशमा पैसा कमाउने प्रलोभनमा धेरै मानिस फस्नु, श्रम शोषण हुनु पनि बेचबिखन हुने भएकाले यस्तो कार्यको अन्त्य हुनुपर्ने बताए ।