चितवन । रत्ननगर नगरपालिकाले नगरभित्रका विपन्न नागरिकको उपचारका लागि ३० लाखको उपचार कोष स्थापना गरेको छ ।
बकुलहर रत्ननगर अस्पतालमा उपचार गर्ने गरी स्थापना गरिएको सो कोषको आइतवार औपचारिक रुपमा शुभारम्भ गरिएको छ । कोषको सुभारम्भसंगै अस्पतालमा सहायता कक्षा स्थापना गरी काम सुरु गरिएको छ । सो नगरपालिकाले कोष सञ्चालनको लागि कार्यविधि बनाएको छ ।
आर्थिक अभावका कारण उपचार नपाएर विपन्न नागरिकले मृत्य बरण गर्न नपरोस भनेर कोष स्थापना गरिएको मेयर प्रल्हाद सापकोटाले बताए । सबै नागरिकको बाच्न पाउने अधिकार उत्तिकै रहेको भन्दै मेयर सापकोटाले पैसा नभएर अस्पतालबाट रोग लिएर घर फर्किनु पर्ने अबस्थाको अन्त्य गर्न कोष स्थापना गरेका हौं ।
कोषबाट नगर भित्रका विपन्न नागरिक र अभिभावकको अपहेलनाका कारण सडकमा आएका नागरिकको समेत उपचार गरिने छ । वडाको सिफारिसका आधारमा बकुलहर रत्ननगर अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको छ । एक जनालाई उपचारका लागि १० हजार रुपैया सम्म उपलब्ध गराउने योजना रहेको मेयर सापकोटाले बताए । उपचार गर्दै जाँदा बढी रकम पनि खर्च हुन सक्छ उनले भने त्यस्तो अबस्थामा पनि कोषले उपचार खर्च व्यहोर्ने छ ।
कार्यक्रममा उपमेयर प्रल्हाद सापकोटाले पहिलो बर्ष कोषको काम प्रभावकारी भए अर्को आर्थिक बर्षमा रकम दोब्बर बनाउने घोषणा गरे । कोषको रकम दुरुपयोग हुनु हुदैन उनले भने लक्षित बर्गको उपचारमा खर्च हुन सक्यो भने मात्र यसको उद्देश्य पुरा हुने छ । उनले नगरपालिकाले चालु आर्थिक बर्षमै ३ हजार २०० विपन्न परिवारको निशुल्क स्वास्थ्य बिमा गर्ने कामको थालनी गरिसकेको जानकारी दिए ।
प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले कोषले गरिवको बाच्न पाउने अधिकार सुनिश्चित गर्ने बताए । कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष गोपालराज कर्माचार्य, अस्पतालका मेसु डा.मदन ज्ञावली, पूर्वअध्यक्ष देवेन्द्रकुमार श्रेष्ठ, वडा नं ३ का वडाध्यक्ष सोहेन्द्रराज खरेल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम स्वास्थ्य शाखाका प्रमुख माधवप्रसाद पौडेलले सञ्चालन गरेका थिए ।