वेलिगंटन । न्युजिल्याण्डमा कोभिड–१९ संक्रमितको संख्या हवात्तै बढेको छ । गत वर्षको २० अप्रिलपछि बुधबार अहिलेसम्मकै बढी संक्रमित देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ज्यासिन्डा आर्डेनले कडा लकडाउन गरेको भोलिपल्ट न्युजिल्याण्डमा अहिलेसम्मकै ठूलो संख्यामा संक्रमित भेटिएका हु्न । अहिले त्यहाँ दैनिक ६० देखि ८० जनामा संक्रमण देखिएको छ ।
न्युजल्याण्डमा हालै डेल्टा भेरियन्टसँगै संक्रमित बढेपछि सरकारले त्यसअघि लगाउदै आएको लकडाउनको समयाबधी बढाएको थियो । लकडाउनबाट कोभिडलाई पूर्ण रुपमा नियन्त्रण गर्न असम्भव भएको भन्दै स्वास्थ्य विज्ञले सरकारको कदमको आलोचना गर्दै आएका छन् ।
दुई साताअघि देशकै ठूलो सहर अकल्याण्डमा डेल्टा भेरियन्ट देखिएपछि न्युजिल्याण्डला कोरोनामुक्त गर्ने प्रधानमन्त्री आर्डेनको अभियानमा ठेस लागेको थियो ।
हालै मात्र अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले लकडाउन गरेर मात्र कोरोना नियन्त्रण सम्भव नहुने बताएका थिए । ‘न्युजिल्याण्डले पनि लकडाउनबाट कोरोना नियन्त्रण गर्न सक्दैन, जसरी अस्ट्रेलियाले गर्न सकेको छैन ।’ उनले भने । खोपको सर्वसुलभ र सामाजिक चेतनाले रोग नियन्त्रण गर्न सकिने उनको भनाई थियो ।