काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय बाराका तत्कालीन जिल्ला वन अधिकृत भैरव प्रसाद घिमिरेसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले कलमी विरुवा उत्पादन तथा खरीदमा अनियमतिता गरेको भन्दै उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियारले तत्कालीन जिल्ला वन अधिकृत भैरवप्रसाद घिमिरे र तत्कालीन सहायक वन अधिकृत बिन्देश्वरप्रसाद पटेलविरुद्ध जनही ४ लाख ९० हजार रुपैयाँ विगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो।
त्यस्तै अख्तियारले तत्कालीन सहायक वन अधिकृत दिनेशप्रसाद जायसवालविरुद्ध आयोगले ३ लाख ९० हजार रुपैयाँ विगो दाबी गरेको छ। जिल्ला वन कार्यालय, बारामा बाँसको कलमी विरुवा उत्पादन वा खरीद तथा सदुपयोग, अम्रिसो विरुवा उत्पादन वा खरीद तथा वितरण, नदी उकास जग्गामा खयर, सिसौ, सिमल आदि प्रजातिका विउ खरीद गरी छर्ने समेतको कार्यमा अनियमितता भएको अख्तियारको आरोप पत्रमा उल्लेख छ।
बिउ खरीद गरी छर्नको लागि बढी मूल्यमा खरीद गरी रकम हिनामिना एवं हानीनोक्सानी भएको देखिएको आयोगको आरोपपत्रमा उल्लेख छ।