काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले मंगलवार राजिनामा दिएका छन् ।
नेप्सेको कार्यालयमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा सीईओ साउदले आफूले पदिय जिम्मेवारीमा रहँदा कुनै अवाच्छित काम नगरेको भन्दै अनुसन्धानमा सहयोग पुर्याउनका लागि राजिनामा दिएको बताए । राजिनामा पछि उनले सञ्चारकर्मीहरुसँग अनुसन्धानलाई सहयोग पुर्याउनका लागि आफूले पद छाडेको बताएका छन् ।
सर्वोत्तम सिमेन्टको शेयर जारी गर्न बुक बिल्डिङ प्रक्रियामा रहेका बेला उक्त कम्पनीको शेयर आफ्नी श्रीमतिको नाममा खरीद गरेको पाइएपछि सीईओ साउद विवादमा तानिएका थिए ।
उनलाई अर्थ मन्त्रालयले समेत स्पष्टीकरण सोधेको थियो । संसदको अर्थ समितिका सदस्यहरुले पनि सीईओ साउदलाई निलम्बन गरी कारवाही शुरु गर्न अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएका थिए । उनको नेप्सेमा कार्यकाल करीब दुई महीना मात्रै बाँकी थियो ।