चितवन। चितवन क्षेत्र नं. ३ बाट उपविजेता बन्नु भएका फिजिसियन डा. भोजराज अधिकारी नियमित काममा फर्किनु भएको छ । उहाँले भरतपुरको पुष्पाञ्जली अस्पतालबाट नियमित बिरामी परीक्षण सेवालाई निरन्तरता दिनु भएको हो ।
उम्मेदवारी मनोनयनको दुई दिन अघि नेकपा (माओवादी केन्द्र) ले टिकट दिएपछि बिरामी परीक्षणको काम छोडेर डा. अधिकारी निर्वाचनमा होमिनु भएको थियो । भरतपुर अस्पताल विकास समितिको अध्यक्ष पदबाट समेत राजीनामा दिएर उहाँ पेशा छाडेर प्रत्यक्ष राजनीतिमा लाग्नु भएको थियो ।
निर्वाचनको समयमा अस्पताल बाहिर रहनु भएका अधिकारीले नियमित स्वास्थ्य परीक्षण शुरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो “अब म नियमित बिरामी चेकजाँचको काममा फर्किएको छु ।” स्वास्थ्य सेवा मार्फत् राजनीतिमा सक्रिय रहने उहाँको योजना छ ।
निर्वाचनका समयमा आफ्नो प्रतिबद्धतापत्रमा समेटिएको ‘अस्पताललाई जनताको घरदैलोमा’ अभियान पराजित भए पनि निरन्तरता दिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “निर्वाचित भएको भए तीन चार वटा गाडीमा चिकित्सक, स्वास्थ्यकर्मी लगायतको टोली सहित घरघर पुग्ने योजना थियो । उपविजेता भए पनि सक्ने जति सेवा गर्छु ।”
कार्यतालिका बनाएर स्वास्थ्य टोली लिएर गाउँगाउँमा गएर उपचार नपाएकाहरुलाई अस्पतालसँग जोड्ने, नियमित स्वास्थ्य परीक्षण गराउने, स्वास्थ्य जनचेतना जगाउने लगायतका कार्य गर्ने योजना डा.अधिकारीको छ । उहाँले भन्नुभयो “विशेषज्ञ सहितको स्वास्थ्य शिविर, रोग पत्ता लागेकालाई अस्पताल जोड्ने, समाजमा दीर्घरोगीको खोजीका लागि परीक्षण गर्ने योजनामा छु ।” यसैगरी मधुमेह, उच्च रक्तचाप लगायतका रोगको पहिचान अभियानका रुपमा गाउँगाउँमा लैजाने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो “क्यान्सर, मुटु रोग स्क्रिनिङ गर्ने, सरकारले निःशुल्क गरेका रोगको उपचार र औषधिका बारेमा सर्वसाधारणलाई जानकारी गराउने काम अभियानमा हुन्छ ।” शुद्ध पिउने पानी, स्वच्छ वातावरण लगायतका बारेमा जनचेतना जगाउँदै धुम्रपान र मद्यपान विरोधी अभियान सञ्चालन गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “अपाङ र जेष्ठ नागरिक कार्ड नभएकालाई कार्ड बनाएर उपचारमा सहयोग गर्छु ।”
आम नागरिकलाई सहज स्वास्थ्य पहुँच पु¥याउन जनतासँग अस्पताल अभियान प्रभावकारी ढंगले अघि बढाउने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो “मानौं छारे रोग लागेर उपचार हुँदैन भनेर बसेका बिरामीलाई अस्पतालसम्म जोड्ने र उपचार गर्ने काममा म लाग्छु ।”
जिल्लामा चिनिएका फिजिसियन अधिकारी चितवन क्षेत्र नं. ३ का नागरिकलाई प्राथमिकतामा राखेर अभियान मार्फत् उपचार सेवा दिलाउने बताउनुहुन्छ । उहाँले थप्नुभयो “म स्वास्थ्य मार्फत् राजनीति गर्ने योजनामा छु ।”
देशै बिरामी भएकाले संसदमा छिर्ने बताउँदै राजनीतिमा होमिनु भएका डा. अधिकारी पराजित भए पनि आफ्नो क्षमताले भ्याएसम्म जनताको सेवामा लागिरहने बताउनुभयो ।