काठमाडौं । धितोपत्र बजारमा चार ओटा वाणिज्य बैंक सहित ६ ओटा कम्पनीहरुले १ करोड २७ लाख कित्ता ऋणपत्र विक्रीको तयारी गरेका छन् ।
कामना सेवा विकास बैंक, एभरेष्ट बैंक, एनएमबि बैंक, सेञ्चुरी बैंक, सिभिल बैंक र गरिमा विकास बैंकले उक्त कित्ता ऋणपत्र विक्रीको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हुन् ।
यी मध्ये सेञ्चुरी बैंक, सिभिल बैंक र गरिमा विकास बैंकको निवेदन स्वीकृत प्रकृया अन्तिम चरण रहेको छ । सेञ्चुरी बैंकले २०७७ साल असोज २२ गते रू. २ अर्ब २० करोड बराबरको २२ लाख कित्ता ऋणपत्र विक्रीका लागि निवेदन दिएकोमा सोही वर्ष मंसिर १७ गते नै बोर्डको प्रतिक्रिया प्राप्त गरेपनि हालसम्म स्वीकृति पाएको छैन । बोर्डले केही प्रकृया अझै बाँकी रहेकाले सेञ्चुरी बैंकको ऋणपत्र स्वीकृति प्रकृया रोकिएको जानकारी दिएको छ ।
त्यस्तै, २०७८ साल जेठ २४ गते रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र विक्रीका लागि निवेदन दिएको सिभिल बैंकले र २०७८ साल असार ११ गते रू. १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र विक्रीको लागि निवेदन दिएको गरिमा विकास बैंकले एकै दिन साउन २१ गते बोर्डबाट प्रतिक्रिया प्राप्त गरिसकेका छन् । बोर्डको प्रतिक्रिया बमोजिमको प्रकृया पूरा गर्न बाँकी रहेकाले यी बैंकहरुको ऋणपत्र स्वीकृति रोकिएको हो ।
बाँकी, तीन ओटा कम्पनीको निवेदन भने प्रारम्भिक चरणमै रहेको छ । कामना सेवा विकास बैंकले रू. १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न साउन ३ गते निवेदन दिएको हो । त्यस्तै, एभरेष्ट बैंकले रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासनका लागि साउन २० गते र एनएमबि बैंकले रू. ३ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्कासनका लागि साउन २४ गते निवेदन दिएको हो ।
कुल कित्तामध्ये सर्वसाधारणमा सार्वजनिक निष्कासन मार्फत विक्री हुनेछ भने विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई बैंक आफैले परिपत्र विधिबाट विक्री गर्नेछ ।
कामना सेवा बैंकले १० वर्षे अवधिको ९ प्रतिशत ब्याजदरको कुल १० लाख कित्तामध्ये ४ लाख कित्ता सामूहिक लगानी कोष सहित सर्वसाधारणमा विक्री गर्नेछ भने ६ लाख कित्ता परिपत्र विधिबाट विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई विक्री गर्नेछ ।
त्यस्तै, एभरेष्ट बैंकले ८ वर्षे अवधिको ८ दशमलव ५ प्रतिशत ब्याजदरको कुल २० लाख कित्तामध्य ८ लाख सर्वसाधारणका लागि र १२ लाख परिपत्र विधिका लागि छुट्याएको छ । त्यस्तै, एनएमबि बैंकले १५ वर्षे अवधिको ४ प्रतिशत ब्याजदरको ऊर्जा बण्डका नामको ३५ लाख कित्तामध्ये १४ लाख सर्वसाधारणका लागि र २१ लाख परिपत्र विधिका लागि छुट्याएको छ । सेञ्चुरी कमर्सियल बैंकले ९ प्रतिशत ब्याजदरको १० वर्षे अवधिको २२ लाख कित्ता ऋणपत्र मध्ये ८ लाख ८० हजार कित्ता सर्वसाधारणका लागि र १३ लाख २० हजार कित्ता विभिन्न संघ संस्थाहरुमा विक्री गर्नेछ ।
सिभिल बैंकले पनि ९ प्रतिशत ब्याजदरको १० वर्षे अवधिको ३० लाख कित्तामध्ये १२ लाख सर्वसाधारणमा र १८ लाख विभिन्न संघसंस्थाहरुमा विक्री गर्ने भएको छ । गरिमा विकास बैंकले भने ७ वर्षे अवधिको ८ दशमलव ७५ प्रतिशत ब्याजदरको कुल १० लाख कित्तामध्ये ४ लाख कित्ता सर्वसाधारणमा र ६ लाख कित्ता परिपत्र विधिबाट विभिन्न संघसंस्थाहरुमा जारी गर्नेछ ।
लामो समयसम्मका लागि निश्चित ब्याजदर उल्लेख गरी रकम जुटाउन सकिने सरल माध्यम भएकाले पनि कम्पनीहरुले ऋणपत्र निष्कासनलाई प्राथमिकतामा राखेका छन् । यसअघि वाणिज्य बैंकको हकमा चुक्तापूँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था थियो ।
यस वर्षदेखि भने वाणिज्य बैंकहरुको अतिरिक्त राष्ट्रिय स्तरको विकास बैंक, वित्त कम्पनी र थोक कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाहरुमा पनि ऋणपत्र जारी गर्न पाउने व्यवस्था भएको छ । यस वर्षको मौद्रिक नीतिले यी कम्पनीहरुले पनि आफ्नो चुक्तापूँजीको २५ प्रतिशतसम्म ऋणपत्र विक्री गर्न पाउने भएका हुन् ।
यो व्यवस्थाले अवका दिनमा ऋणपत्र निष्कासनले अझै तिव्रता पाउनेछ । यस अघिको अवस्थालाई हेर्दा गत आर्थिक वर्षमा मात्र २३ कम्पनीहरुले ६ करोड ९६ लाख कित्ता ऋणपत्र विक्रीको अनुमति पाई निष्कासन समेत गरिसकेका छन् । यसअघि पनि वाणिज्य बैंक सहित विकास बैंक र वित्त कम्पनीले पनि ऋणपत्र विक्रीको अनुमति पाई निष्कासन गरेका थिए ।