चितवन। चितवनको २ नम्बर निर्वाचन क्षेत्रबाट विशाल मतान्तरले विजयी भएका रवि लामिछानेले संसदीय परीक्षामा राम्रो अंक ल्याएर पास हुने बताएका छन् ।
प्रतिनिधिसभा निर्वाचनमा विजयी भएपछि पत्रकारहरूसँगको संक्षिप्त प्रतिक्रियामा रविले आफूले चुनाव जितेको नभई परीक्षाका लागि चुनिएको बताएका हुन् ।
‘मलाई चितवनवासीले जाँच दिनका लागि चुनेर पठाउनुभएको हो । रिजल्ट ५ वर्षपछि आउँछ, राम्रो नम्बर ल्याएर पास हुनेछु,’ लामिछानेले भने ।
रविले चितवनले आफूलाई दोस्रोपटक न्याय दिलाएको भन्दै आभार व्यक्त गरे । ‘पहिलोपटक मलाई न्याय दिन गुन लगायो, दोस्रोपटक देशलाई न्याय दिन संसदमा जान गुन लगायो,’ लामिछानेले भने ।
सरकारका बहालवाला मन्त्रीलाई भारी मतान्तरले पराजित गरेपछि चितवनमा रविका समर्थकले विजय उत्सव मनाएका छन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठलाई ३४ हजारको फराकिलो मतान्तरले पराजित गर्दै रवि विजयी भएका थिए ।