चितवन । निशेधाज्ञाको अवज्ञा गरी पसल खोज्ने नारायणगढका १९ व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जवी शर्माको नेतृत्वमा निस्केको प्रहरी र सशस्त्र प्रहरीसहितको अनुगमन टोलीले १९ जनालाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्य थापाले ८ जना महिला र ११ जना पुरुषलाई नियन्त्रणमा लिइएको जानकारी दिए । उनीहरुले निशेधाज्ञा लागु भएको समयमा भीडभाड र अटेर गरेर व्यवसाय सञ्चालन गर्दै आएका थिए ।
उनीहरुलाई हाल जिल्ला प्रहरी कार्यालयमा राखिएको र सम्झाई बुझाई गरी आजै छाड्ने तयारी भएको उनले बताए । यसअघि प्रहरीले बजारका विभिन्न स्थानबाट २३ जनालाई नियन्त्रणमा लिएको थियो ।
तोकिएको समयबाहेकका समयमा पसल सञ्चालन गर्ने जो कोहीलाई नियन्त्रणमा लिएर कारबाही गरिने बताउँदै प्रवक्ता थापाले प्रशासनको आदेश पालना गर्न सबैसँग आग्रह गरेका छन् ।