काठमाडौं । कैलालीको टीकापुर घटनाका दोषी रेशम चौधरीलगायत रिहाइको माग गर्दै थरुहट थारुवान राष्ट्रिय मोर्चा आन्दोलित भएको छ ।
मंगलबार (हिजो)देखि काठमाडौंको माइतीघरमा मोर्चाको अगुवाइमा धर्ना दिइएको हो । उक्त घटनामा निर्दोष भए पनि दोषी करार गर्दै राज्यले रेशमलाई जेलमा राखेको भन्दै मोर्चा आन्दोलनमा उत्रिएको हो ।
निर्वाचित निर्दोष नेतालाई जेल हाल्नु राज्यले अन्याय गरेको मोर्चाको ठहर छ । घटनाको सत्यतथ्य खोजी गर्नुको साटो आफ्नो अधिकारका लागि गरेको विद्रोहलाई आपराधिक घटनाका रूपमा चित्रण गर्दै निर्दोष थारुहरूलाई फसाएको आरोपसमेत लगाएको छ ।
प्रदर्शनमा सहभागीले नाराबाजी गर्दै विभिन्न मागसहितका प्लेकार्ड प्रदर्शन गरेका थिए ।