काबुल । अफगानिस्तानमा कुल ३४ प्रान्तमध्ये आधाभन्दा बढी प्रान्त तालिबान लडाकुको नियन्त्रणमा पुगेको छ ।
तालिबान लडाकुले नियन्त्रणमा लिएका १८ प्रान्तमध्ये आधा दर्जनभन्दा बढी प्रान्त पछिल्लो २४ घण्टामा मात्रै नियन्त्रणमा लिएका हुन् । पछिल्लोपटक तालिबान लडाकुको नियन्त्रणमा परेका प्रान्तमा कन्दाहर, हेल्मान्ड, हेरात, बाड्घीस, घोर, लोगार, जाबुल र ओर्जुगान प्रान्त रहेका छन् ।
तीबाहेक पाक्तीया र वार्डाक प्रान्तका भने राजधानी मात्रै सरकारी नियन्त्रणमा रहेका छन् । अन्य सबै भाग तालिबान लडाकुको नियन्त्रणमा रहेका छन् ।
लडाकुले पूर्वमुजाहिद्धिन नेता तथा जमात ए इस्लामी पार्टीका वरिष्ठ नेता इस्माइल खानलाई पनि नियन्त्रणमा लिएका छन् ।
पछिल्लो समय अफगानिस्तानमा संघर्षरत तालिबान लडाकु बढी आक्रामक देखिएका छन् । उनीहरुले धेरै ठाउँमा आक्रमण गरेका छन् भने दैनिक रूपमा विभिन्न ठूला सहर आफ्नो नियन्त्रणमा लिन सफल भएका छन् ।
एकपछि अर्काे सहर कब्जा गरिरहेको तालिबान लडाकुको समूहले अफगानिस्तानको दोस्रो ठूलो सहर कन्दाहार पनि केही दिनअगाडि नै कब्जा गरेको छ । कन्दाहार सहर अफगानिस्तानको प्रमुख व्यापारिक केन्द्र पनि हो भने रणनीतिक हिसाबले समेत महत्वपूर्ण क्षेत्र हो ।
अमेरिकी सैनिक फिर्ता भएपछि तालिबान लडाकुको गतिविधि पनि बढी आक्रामक भएको देखिएको छ । उनीहरूको नियन्त्रण बढ्दै गएपछि पश्चिमा देशले आफ्ना दूतावासका कर्मचारी र नागरिकलाई सुरक्षित रूपमा स्वदेश फर्काउन थालेका छन् ।
संयुक्त राष्ट्रसंघलगायत अन्तरराष्ट्रिय निकायले पनि अफगानिस्तानमा बढ्दै गएको हिंसा र नियन्त्रणको अभियानप्रति चासो र चिन्ता व्यक्त गरेका छन् ।
अफगानिस्तानमा झन्डै चार करोड जनसंख्यामध्ये एक करोड ८४ लाख जनसंख्यालाई मानवीय सहयोगको आवश्यकता पर्न सक्ने संयुक्त राष्ट्रसंघले जनाएको छ । देशभरि लडाइँ फैलिँदै जाँदा एक करोड ८४ लाख मानिसलाई मानवीय आवश्यकता पर्न सक्ने मूल्यांकन गरिएको राष्ट्रसंघका मानवीय सहयोग मामिला अधिकारीले बिहीबार बताएका हुन् । रासस/एएनआई