काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सबै परीक्षार्थीलाई खोपको व्यवस्था गर्ने गृहकार्य भइरहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले सबैथरी परीक्षार्थीलाई खोप लगाउन गृहकार्य गरिरहेको जानकारी दिएका हुन् ।
यस्तै उनले किशोरकिशोरीका लागि मोडर्ना खोप प्राप्त गर्ने क्रममा रहेको पनि बताएका छन् । “दक्षिण एसियामै गाभिबाट लागत सहभागितामा खोप प्राप्त गर्ने नेपाल पहिलो मुलुक हो,” उनले ट्विट गरेका छन् ।
अमेरिकी औषधि निर्माता कम्पनी मोडर्नाले कोरोना भाइरसविरुद्ध विकास गरेको खोप किशोर किशोरीहरूमा शतप्रतिशत प्रभावकारी देखिएको छ ।
कम्पनीका अनुसार १२ देखि १७ वर्ष उमेरका करिब ४ हजार जनामा गरिएको क्लिनिकल परीक्षणमा उक्त नतिजा देखिएको हो । परीक्षणका क्रममा ३ हजार ७ सय ३२ जनालाई खोपको पूरा मात्रा दिइएको थियो । खोपको एक मात्रा मात्र लिएकाहरूमा भने यसको प्रभावकारिता ९३ प्रतिशत देखिएको छ ।