काठमाडौं । यो साता नेपालको शेयर बजारको कुल पूँजीकरण हालसम्मकै सर्वाधिक कायम भएको छ । साताको अन्तिम कारोबार दिन बिहीवार कुल बजार पूँजीकरण रू. ४४ खर्ब ३७ अर्ब २७ करोड कायम भएको हो ।
गत साता यो रकम रू. ४३ खर्ब ३७ अर्ब १७ करोड ३० लाख थियो । गत साताभन्दा यो साता कुल बजार पूँजीकरण रू. १ खर्ब ९ करोड ७० लाखले वृद्धि भएको हो । यो साता समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक ७१ दशमलव ५५ अंक बढेकाले पनि कुल बजार पूँजीकरणमा वृद्धि भएको हो ।
यो साता पाँच कारोबार दिननै बजार बढेको छ । पहिलो दिन शून्य दशमलव ६६ अंक, दोस्रो दिन १ दशमलव ५४ अंक, तेस्रो दिन ५१ दशमलव ८६ अंक, चौथो दिन शून्य दशमलव ९४ अंक र पाँचौ दिन १६ दशमलव ४१ अंक नेप्से परिसूचक बढेको हो ।
गत साता ३ हजार १०७ दशमलव ४५ विन्दुमा रहेको नेप्से परिसूचक यो साता ३ हजार १७९ विन्दुमा पुगेको हो । नेप्से परिसूचकसँगै यो साता ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव १६ अंकले बढेको छ । गत साता ५७९ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ५९१ दशमलव १६ विन्दुमा पुगेको हो ।
देशका विभिन्न ठाउँमा कोभिड महामारीका कारण जारी निषेधाज्ञाका कारण व्यापार व्यवसाय प्रभावित बनिरहेको अवस्थामा घरमै बसेर अनलाईन मार्फत कारोबार गर्न सकिने भएकाले शेयर बजारमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । मौद्रिक नीतिले ल्याउने नयाँ व्यवस्थाका कारण बजार प्रभावित हुने हो कि भन्ने चिन्तामा रहेका लगानीकर्ताहरु यतिवेला बजार प्रतिको सकारात्मक मौद्रिक नीतिका कारण थप उत्साहित बनेका छन् ।
नेपाल राष्ट्र बैंकले यस वर्षको मौद्रिक नीतिमा पूँजीबजारका सम्बन्धमा धेरै कुरा सम्बोधन नगरेपनि मार्जिन कर्जाको सीमालाई यथावत राखी यो कर्जा बढीमा एक व्यक्ति वा संस्थाले रू. १२ करोडसम्म लिन पाउँने सीमा तोकिदिएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुबाट प्रावह हुने यस प्रकारको कर्जा जोखिम न्यूनीकरण गर्दै साना लगानीकर्ताहरुको पहूच अभिवृद्धि गर्ने अभिप्रायले यस प्रकारको कर्जा एक वित्तीय संस्थाबाट अधिकतम रू. ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम रू. १२ करोडसम्म लिन सक्ने व्यवस्था गरिएको हो ।
यस वर्षको मौद्रिक नीतिमार्फत यस अघि कायम रहेको शेयर धितोकर्जाको सीमा ७० प्रतिशतलाईनै यथावत राखिएको हो । गत वर्षको मौद्रिक नीतिले भने त्यस अघि कायम ६५ प्रतिशत शेयर धितोकर्जाको सीमा ५ प्रतिशत बढाएर ७० प्रतिशत कायम गरेको थियो ।
पछिल्लो समय नेपाल सरकारले पनि विशेष चासोका साथ पूँजीबजारलाई हेर्दै आएको छ । यस वर्षको मौदिक नीतिमा पनि पूँजीबजारलाई असर गर्ने खालको व्यवस्था नगर्न समेत नेपाल सरकार अर्थमन्त्रालयले नेपाल राष्ट्र बैंकलाई सुझाब दिएको थियो । यसर्थ पनि शेयर बजारका लगानीकर्ताहरु मौद्रिक नीतिले बजारलाई प्रभावित पार्ने खालको व्यवस्था नल्याउनेमा ढुक्क रहेको देखिन्थे ।
यो साता नेप्से परिसूचक र कुल बजार पूँजीकरणसँगै कारोबार रकम र कित्तामा पनि वृद्धि भएको छ । गत साता रू. ६४ अर्ब ५२ करोड ८७ लाख ३२ हजार बराबरको १३ करोड १० लाख २४ हजार ९११ कित्ता शेयर कारोबार भएकोमा यो साता रू. ७९ अर्ब २६ करोड ८ लाख ४० हजार बराबरको १४ करोड ९८ लाख ३२ हजार ३१० कित्ता शेयर कारोबार भएको हो ।
गत साताभन्दा यो साता रू. १४ अर्ब ७३ करोड २१ लाख ७ हजार बराबरको १ करोड ८८ लाख ७ हजार ३९९ कित्ता बढी शेयर कारोबार भएको हो ।