काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना परीक्षा स्थगित नगर्ने पुनः दोहोर्याएको छ ।
त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले अहिलेसम्म परीक्षा रोक्नुपर्छ भन्ने कुनै किसिमको निवेदन नआएको बाह्रखरीलाई जानकारी दिए । उनले मंगलबार पद्मकन्या क्याम्पसमा परीक्षा नदिने भन्दै केही बेर विरोध भए पनि अन्ततः परीक्षा सम्पन्न भएको बताए ।
“हिजो पीके क्याम्पसमा केही विद्यार्थीले विरोध गरे पनि उनीहरु परीक्षा दिने पक्षमै छन् । उनीहरुले बरु खोपको व्यवस्था गर्नुपर्यो भनेर सरकारलाई प्रश्न उठाएका हुन्,” उनले भने ।
उनका अनुसार आज सबै परीक्षा केन्द्रमा परिस्थिति सामान्य छ । भोलि केही केन्द्रमा विद्यार्थी बढी भए पनि स्वास्थ्य मापदण्डको पालना गरेरै परीक्षा गराइनेछ । उनले भने, “कतैबाट परीक्षा नगर्नु भन्ने निवेदन आएको छैन । विद्यार्थी पनि परीक्षा दिन नै चाहन्छन् ।”
आइतबार बसेको त्रिवि परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषद्को बैठकले भदौ ५ गतेसम्म परीक्षा नरोक्ने निर्णय गरेको थियो ।
‘कक्षा–१२ को परीक्षा कोरोना सर्छ भन्दै स्थगित गर्ने तर विश्वविद्यालयको नगर्ने, त्यसको आधार के ?’ भन्दै सांसद गगन थापाले आफ्नै सरकारको निर्णयमाथि प्रश्न उठाएका थिए ।
कोरोनाको तेस्रो लहर बढेको र विद्यार्थीको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिन भन्दै दबाब आएपछि सरकारले कक्षा–१२ को परीक्षा स्थगित गरेको थियो । उच्च शिक्षामा भर्ना हुन चाहने विद्यार्थीले कक्षा–१२ को परीक्षाको लागि अनिश्चितकालसम्म पर्खनुपरेको छ । परीक्षा कहिले हुने भन्ने अर्को मिति राष्ट्रिय परीक्षा बोेर्डले तोक्न सकेको छैन ।
तर, त्रिभुवन विश्वविद्यालय, लोकसेवा आयोग र आन्तरिक रुपमा विद्यालयको कक्षा–११ को परीक्षा भइरहेको छ । लोकसेवा आयोगलाई भइरहेको परीक्षा बारे जिज्ञासा राख्दा सूचना अधिकारी देवीप्रसाद सुवेदीले अहिले आयोगले गत वर्ष र यस वर्ष खुलेका विज्ञापन दुवैको परीक्षा लिन थालेको जानकारी दिए ।
उनले परीक्षा सञ्चालन गर्न आयोगलाई कुनै समस्या नभएको जिकिर गरे । “पूर्वतिरका कतिपय ठाउँँमा स्थानीय निषेधाज्ञा रहेछ । त्यसले गर्दा परीक्षार्थीलाई प्रवेशपत्र देखाउँदै परीक्षा दिन आउनुपर्दा कठिन भएको छ । त्योबाहेक अन्य समस्याचाहिँ छैन,” उनले भने ।