काठमाडौं । नेपाल टेलिकमले विगत वर्षहरूमा जस्तै यो वर्ष पनि एसईईका विद्यार्थीहरूका लागि एसईई अफरसहितको निःशुल्क सिम उपलब्ध गराउने भएको छ । उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयहरूबाट निःशुल्क उपलब्ध हुनेछ । विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा यी अफरहरू उपलब्ध गराउने व्यवस्था समेत गरिएको जनाइएको छ ।
नयाँ सिम प्राप्त गर्नका लागि विद्यार्थीहरूले कक्षा १० को कुनै मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरू परिचय पत्रको फोटोकपी संलग्न गरी फाराम भर्नु पर्नेछ । उक्त सिम टेलिकमको नेटवर्कभित्र दैनिक १० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन तथा १०० एमबी डाटा प्रयोग गर्न सकिने छ । यस अनुसार ३० दिनसम्म ३ हजार एमबी डाटा, ३०० मिनेट टकटाइम र ३०० वटा एसएमएसको सुविधा प्राप्त हुनेछ । उल्लिखित सुविधाहरू नेपाल टेलिकमको नेटवर्कमा मात्र लागु हुनेछ ।
यो अफर भएको नयाँ सिममा रिचार्जमा बोनस पनि उपलब्ध हुने जनाइएको छ । यस प्याकमा ५० रुपैयाँ वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुने जनाइएको छ । यो सुविधा ६ महिनासम्मको रिचार्जमा उपलब्ध हुनेछ । बोनसबापत् यसरी प्राप्त हुने सुविधा ३ दिनभित्र प्रयोग गरिसक्नु पर्ने जनाइएको छ ।