काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले माफी मागेका छन् । सोमबार अलमुताइरीले सामाजिक सञ्जाल फेसबुकबाट एक अनलाइन मिडियालाई दिएको अन्तर्वार्ताको विषयमा माफी मागेका हुन् ।
नेपाली फुबल र पदाधिकारीका विषयमा अलमुताइरीले एक अनलाइनसँगको अन्तर्वार्तामा पदाधिकारीहरू सुध्रिन आवश्यक रहेको बताएका थिए । उनले पहिले नेपाली फुटबल खेलाडीहरू नतिजाका लागि भन्दा पनि नयाँ देश हेर्न र घुम्न मात्र जाने गरेको र आफ्नो आगमनपछि राम्रो नतिजा आएको बताएका थिए ।
उनको सो अभिव्यक्ति पछिल्लो समय विवादमा आएको थियो ।
प्रशिक्षक अलमुताइरीले आफ्नो भनाइको गलत अर्थ लागेको महसुस भएको बताउँदै माफी मागेका हुन् ।
“गत महिना मैले एक अनलाइनमा दिएको अन्तर्वार्ताको बारेमा माफी माग्न यहाँ छु । नेपाली राष्ट्रिय टिम र खेलाडीको बारेमा बोल्दा मेरो उद्देश्य तीन दशकमा नेपालको टिम र अन्य एसियन टिमको विकासको बारेमा बुझाउनु थियो । पछिल्लो समय मैले मेरा शुभेच्छुक र फुटबललाई माया गर्ने परिवारसँग छलफल गर्दा मैले महसुस गरेको छु कि मेरो भनाइको गलत अर्थ लागेको छ,” अलमुताइरीले भनेका छन् । पछिल्लो समय अलमुताइरी एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङसँगको विवादमासमेत तानिएका छन् ।