काठमाडौँ । सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षा बलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ ।
गृह मन्त्री स्तरीय निर्णय अनुसार घटनाको स्थलगत रूपमा छानबिन गरी सत्य तथ्यसहित १० दिनभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो ।
छानबिन समितिमा नेपाल प्रहरीका नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट सदस्य रहनुभएको छ ।