काठमाडौँ । लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा एभर्टनलाई उसकै मैदानमा चेल्सीले १-० गोलअन्तरले पराजित गरेको हो ।
चेल्सीको जितमा जर्जिन्होले गरेको पेनाल्टी गोल नै निर्णायक बन्यो । पहिलो हाफको इन्ज्युरी समयमा पेनाल्टी क्षेत्रभित्र अब्दुलाए डुकुरेले बेन चिल्वेललाई लडाएपछि रेफ्रीले दिएको पेनाल्टीमा उनले गोल गरेका थिए ।
त्यस्तै, टोटनहमले पनि सुखद् सुरुवात गरेको छ । टोटनहम हटस्पर रंगशालामा भएको खेलमा घरेलु टिमले साउथह्याम्पटनलाई ४-१ ले पराजित गर्यो। टोटनहमको जितमा र्यान सेसेग्नन, एरिक डायर र डेजन कुलुसेभिस्कीले एक-एक गोल गर्दा टिमले एक गोल भने साउथह्याम्पटनका मोहम्मेद सलिसुबाट आत्मघाती उपहार पाएको थियो । साउथह्याम्पटनका लागि कप्तान जेम्स वार्ड प्राउजले सुरुवाती अग्रता दिलाएका थिए ।