चितवन । भरतपुर महानगरपालिकाको प्रशासनिक भवनको निर्माण ठेक्का सम्झौता भएको छ । शुक्रबार भरतपुर महानगरपालिका र भवन निर्माणको ठेक्का पाएको शर्मा–सगरमाथा–सगुन जेभी बीच ठेक्का सम्झौतामा हस्ताक्षर भएको छ ।
लागत अनुमान रकम रु ७८ करोड ११ लाखमा ३२ दशमलव ४८ प्रतिशत न्युनतम मूल्यमा शर्मा–सगरमाथा–सगुन जेभी ठेक्का पाएको हो । जेभीले मूल्यअभिवृद्धि करसहित रु ५३ करोड ३२ लाख ४१ हजारमा भवन निर्माण गर्ने छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत चैत ११ गते भवनको शिलान्यस गरेका थिए । सम्झौता भएको मितिले ३० महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने भवनको काम दसै–तिहार लगतै सुरु हुने निर्माण कम्पनीले जनाएको छ ।
संघीय अर्थ मन्त्रालय, वागमती प्रदेश र महानगरको संयुक्त लगानी रहेको छ। संघीय सरकारबाट रु ३५ करोड, वागमती प्रदेश सरकारबाट ठेक्का स्वीकृत रकमको ५० प्रतिशत बजेट विनियोजन गर्ने गरी स्रोत सुनिश्चित भएको महानगर प्रमुख रेनु दाहालले बताइन् । महानगरको अहिलेको भवन तीन दशक पुरानो भइसकेकोले सेवा प्रवाहमा प्रभावकारिता ल्याउनको लागि नयाँ भवनको निर्माण गर्न लागिएको उनले बताइन्।
६ तले भवनको जम्मा क्षेत्रफल १४ हजार १५२ वर्गमिटर बन्ने भवनमा ५० गाडी र २५० वटा मोटरसाईकल अट्न सक्ने अन्डर ग्राउण्ड पार्किङ हुनेछ । भवनमा दुईवटा लिफ्ट, साँस्कृतिक हल, पुस्तकालय रहने छन् । त्यस्तै प्रत्येक तलामा जेष्ठ नागरिक विश्राम कक्ष रहनेछ । भवनमा १५८ वटा साना ठूला कार्य कक्ष रहने छन् भने २२१ वटा कोठाहरु रहने छन् ।