काठमाडौं । सेञ्चुरी बैंकले मौरिससको एक रेमिट कम्पनीबाट पाउनुपर्ने छ लाख अमेरिकी डलर (करिब ७ करोड रुपैयाँ) प्राप्त गर्न नसकेपछि बैंकका सञ्चालकहरूनै विवादमा तानिएका छन् ।
अफ्रिकाको पूर्वी क्षेत्रमा रहेको टापु देश मौरिससको एमएम रेमिटले नेपालमा पठाउनुपर्ने ६ लाख डलर बराबरको रकम पठाउन आनाकानी गरेको र सो सम्बन्धमा सेन्चुरी बैंकले सशक्त अडान लिन नसकेको कारणले गर्दा नेपाल राष्ट्र बैंकले सो रकम ल्याउन नसक्नुको कारणसहित स्पष्टीकरण सोधेको छ भने केही सेयरधनीले यस विषयमा पत्र लेखेर सञ्चालकसँग उत्तर माग गरेका छन् ।
सेञ्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठ, सञ्चालक रणबहादुर श्रेष्ठ, तत्कालीन नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई तथा रेमिटेन्स विभाग प्रमुख रमेश श्रेष्ठ यो विवादमा मुछिएका छन् ।
यी व्यक्तिहरूको संयुक्त लगानीमा रहेको मेरो रेमिटमा मौरिशससबाट छ लाख अमेरिकी डलर पैसा पठाएको कारणले गर्दा एमएम रेमिटका सञ्चालक मनिष पन्तले सेञ्चुरी बैंकको सोही बराबरको आफूले तिर्नुपर्ने रकम नपठाउने अडान लिएका हुन् ।
मेरो रेमिटको मौरिसससँगकोे व्यापारिक सम्बन्ध र सेञ्चुरी बैंकको सम्बन्ध एक आपसमा असम्बन्धित भएता पनि सो बैंकको सञ्चालकहरूलेनै मौरिससबाट मेरो रेमिटमा पैसा मगाएको र सो हिसाब चुक्ता नगरेकाले सेञ्चुरी बैंक यो विवादमा फस्न गएको देखिन्छ ।