चितवन । घरको फोहर घरमै व्यवस्थापन गर्ने प्लान्टबारे भरतपुर महानगरपालिकामा प्रस्तुतीकरण गरिएको छ । काठमाडौँ विश्वविद्यालयका प्राडा भिमप्रसाद श्रेष्ठले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई यो पद्धतीका बारेमा जानकारी गराउनु भएको थियो ।
इजरायली जैविक फोहर व्यवस्थापन पद्धतीअनुसार निर्माण गरिएको प्लान्टलाई घरमा उत्पादन भएको फोहरलाई घरमै सहजै व्यवस्थापन गर्न सकिन्छ । यो प्लान्टबाट मिथेन ग्याँस उत्पादन हुने भएकाले चक्रिय प्रणाली अनुसार यसबाट फाईदा लिन सकिने डा श्रेष्ठले जानकारी दिनुभयो । भान्छाको फोहरबाट निस्किएको ग्याँसबाट भान्छामै खान पकाउन सकिने, कम्पोष्ट मल निस्किने र प्लाष्टिकजन्य फोहर वर्गिकरणमा समस्या नहुने उहाँले बताउनुभयो ।
यो प्लान्टको एक महिने परिक्षणका लागि महानगर परिसरमा यसको प्रयोग सुरु गरिएको छ । अबको २२ दिनपछि प्लान्टबाट मिथेन ग्याँस उत्पादन हुन सुरु हुन्छ । मिथेन ग्याँस निर्माण गर्न गोबर वा कुखुराको सुली पनि प्रयोग गर्नुपर्नेछ ।