चितवन । भरतपुर महानगरका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारी मेयर सम्मेलनमा सहभागि हुन अहिले पोखरामा छन् ।
पोखरा महानगरपालिकाको निमन्त्रणामा महानगरका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र उनीहरूको टिम पोखरा आइसकेको छ । सम्मेलनलाई ‘मेट्रो मिट नेपाल’ नाम दिइएको छ ।
पोखरा महानगरपालिकाको निमन्त्रणामा भरतपुरसँगै मुलुकका ६ वटै महानगरका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र उनीहरूको टिम पोखरा पुगेको हो ।
सम्मेलनको कार्यतालिकाअनुसार पहिलो दिन पोखरा, काठमाडौं, विराटनगर, भरतपुर, ललितपुर र वीरगन्ज महानगरपालिकाका प्रमुखले आ–आफ्ना महानगरका मुख्य योजना र कार्यान्वयनका चुनौतीबारे धारणा राखेका छन् । कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष जगदीशचन्द्र पोखरेलले ‘संघीयता, महानगर र अबको बाटो’ बारे मुख्य प्रस्तुति दिनेछन् भने पूर्वाधार विज्ञ सूर्यराज आचार्यले महानगरको साझा सवाल, पूर्वाधार विकास तथा सुशासन’ सम्बन्धी प्रस्तुति राख्ने कार्यसूची छ ।
सम्मेलनको दोस्रो दिन सहभागीबीच महानगरमा हरित, उत्थानशील तथा समावेशी विकासको अपरिहार्यता, सम्भावना र चुनौती तथा महानगरका साझा सवाल र आगामी कार्यदिशा विषयमा छलफल गर्ने कार्यसूची रहेको पोखरा महानगरपालिकाले जनाएको छ ।
तीन दिनसम्म जारी रहने मेयर सम्मेलन सराङकोटस्थित एक होटलमा हुने पोखरा महानगरका मेयर धनराज आचार्यले जनाए । उनका अनुसार सम्मेलनले पोखरा घोषणापत्र जारी गर्नेछ । सम्मेलनमा महानगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र ५ जना विज्ञ गरी २३ जनाको सहभागिता रहनेछ ।