चितवन । गतबर्ष देखि फैलिएको कोरोनाको असरका कारण चितवन राष्ट्रिय निकुञ्जको आम्दानीसंँगै घुम्न आउने पर्यटक आधाले घटेका छन । अघिल्लो आर्थिकबर्ष (०७६,०७७) को तुलनामा (०७७,०७८) मा उक्त संख्यामा पर्यटक घटेका हुन् । निकुञ्ज, कार्यालयले दिएको तथ्यांक अनुसार अघिल्लो आवमा कुल १लाख ८२ हजार ४३५ जनाले निकुञ्ज घुमेकोमा गत आवमा यो संख्या घटेर ९२ हजार २०९ मा झरेको हो ।
कार्यालयका अनुसार अघिल्लो आवमा आन्तरिक महिला –पुरुष पर्यटक गरी ८९ हजार ४४१ जना पर्यटकले निकुञ्ज घुमेका थिए । यस्तै उक्त बर्षमा सार्क राष्ट्रका १४ हजार २३९ र अन्य मुलुकका ७८ हजार ७५५ जना पर्यटकले निकुञ्ज घुमेका थिए ।
तर गत आवमा ८९ हजार ६०१ आन्तरिक पर्यटकले निकुञ्ज घुमेका थिए भने , सार्क राष्ट्रका १ हजार ३६४ पर्यटक, र अन्य मुलुकका १ हजार २सय ४४ जनाले निकुञ्ज घुमेको तथ्यांक छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले अघिल्लो बर्षबाट फैलिएको कोरोनाका असर हालसम्म रहेको र दोस्रो कोरोनाको लहर हालसम्म पनि नरोकिएकाले पर्यटकको संख्यामा कमी आएको बताए । ‘अघिल्लो बर्ष सिजनमा आउने पर्यटक आइहाले र लकडाउन भयो , उनले भने, अहिले पनि बैशाख दोस्रो हप्ताबाट निशेधाज्ञा चलिरहेको छ ।’ बिशेषगरी सिजनमै निशेधाज्ञा भएको र पर्यटकलाई निकुञ्ज प्रवेशमा रोक लगाईएकोले पर्यटकको संख्या कमी भएको अधिकारीको भनाई छ । ‘एक त बाहिरबाट पर्यटक आउन पाएनन, उनले भने, आन्तरिक पर्यटकको लागि पनि निकुञ्ज खुल्ला हुन पाएन ।’
लकडाउन कारण अघिल्लो बर्ष चैत्र देखि साउनसम्म निकुञ्ज प्रवेशमा रोक लगाईएको थियो भने गत बैशाख देखि पुन निशेधाज्ञाका कारण हालसम्म पनि निकुञ्ज प्रवेश बन्द भएको छ ।
आम्दानीमा पनि भारी गिरावट
अघिल्लो बर्ष निकुञ्ज घुम्ने पर्यटकको शुल्कबाट १८ करोड ७३ लाख ८५ हजार ६४ रुपैयांँ आम्दानी गरेको निकुञ्जले गत आवमा पर्यटक शुल्कबाट आम्दानी घटेर २ करोड ५५ लाख ३७ हजार ८ सय २८ संकलन भएको छ । निकुञ्जले अन्य क्षेत्र बाट पनि आम्दानी गर्ने गरेको छ । ती क्षेत्रबाट अघिल्लो आर्थिक बर्षमा १ करोड १८ लाख ७० हजार ६१७ रुपैयांँ राजश्व संकलन गरेको थियो भने गत आवमा यी क्षेत्रको आम्दानी केही बढेको छ । जस अनुसार ती क्षेत्रबाट १ करोड ८८ लाख २४ हजार ३३८ रुपैयाँ आम्दानी गरेको छ । सूचना अधिकारी सहायक संरक्षण अधिकृत अधिकारीले निकुञ्जको मुख्य आम्दानीको श्रोतनै पर्यटक शुल्क भएकोले पर्यटक नआउंँदा र निशेधाज्ञाका कारण आम्दानीमा ठूलो असर परेको बताए । ‘हाम्रो मुख्य आम्दानीको श्रोत पर्यटकनै हुन , त्यसमध्ये पनि विदेशी पर्यटक उनले भने, अन्य निकुञ्जको आम्दानी भनेको नदीजन्य पदार्थ उत्खनन शुल्क, ठेक्कापट्टा, बगाएर ल्याएका काठका मुडा बिक्री र दण्ड जरीवाना हुन् । ’