राजविराज । अविरल वर्षाका कारण देशकै पुरानो चन्द्रनहर भत्किएको छ । अमहा र टेंगालसहितका खोलामा आएको बाढीले सप्तकोसी नगरपालिका–४ स्थित बलारदहका दुई ठाउँका नहरमा क्षति पुर्याएको छ ।
नगरप्रमुख उत्तम गौतमले सो क्षेत्रमा ५० मिटरसम्म नहर भत्किएको जानकारी दिए । उनका अनुसार नहर भत्किएपछि सप्तकोसी–१, २, ४ र ११ वडाका करिब ३०० घरसमेत डुबानमा परेका छन् । ती घरमा तीन फिटसम्म पानी जमेको बताइएको छ ।
यस्तै, जिता नदीको बाढीले तिलाठी कोइलाडी गाउँपालिका–७, मन्सापुर र वडा नम्बर–५, बरसाइनका केही घर डुबानमा परेका छन् । तिलाठी कोइलाडी–७ को मन्सापुर र वडा नम्बर–५ को बरसाइनका करिब २०० भन्दा बढी घर डुबेको गाउँपालिका अध्यक्ष सतीशकुमार सिंहले जानकारी दिए ।
चन्द्रनहरमा क्षमताभन्दा बढी पानी प्रवाह भएकाले महादेवा गाउँपालिका–४, मनियार प्रसाही क्षेत्र पनि जोखिममा परेको जनाइएको छ । रासस