चितवन। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पूर्व सहमति बमोजिम सरकार छोड्न अटेर गरेपछि सत्ता साझेदार नेपाली कांग्रेसले हस्ताक्षर संकलन सुरु गरेको छ ।
पाण्डेले पूर्व सहमति कार्यन्वयनमा इच्छा नदेखाएपछि बाध्य भएर हस्ताक्षर अभियान सुरु गरेको सत्ता साझेदार दलका नेताहरुले बताएका छन् । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रवक्ता प्रभात तामाङले आफूहरुले हस्ताक्षर अभियान सुरु गरेको पुष्टि गरे ।
उनले भने, बजेट अधिवेशन पछि हाम्रो पार्टीको नेतृत्वको सरकार स्थापना गर्ने पूर्व सहमति अनुसार नै प्रदेश प्रमुखलाई बुझाउनको लागि हस्ताक्षर संकलन सुरु भएको हो, यसमा अन्यथा मान्नुपर्ने कुनै विषयनै छैन ।’ मुख्यमन्त्री राजेन्द्र पाण्डेले सहमतिको कार्यान्वयन सहजै गर्नेमा कांग्रेस विश्वस्त रहेको उनले बताए ।
सत्ता सझेदार नेकपा माओवादी केन्द्रले पनि हस्ताक्षर अभियान सुरु गरेको स्रोत दाबी छ । मुख्यमन्त्री राजेन्द्र पाण्डेले सत्ता छाडन केन्द्रको सहमति आवश्यक रहेको बताएपछि माओवादीले पनि पूर्व सहमति कार्यान्वयन गर्नुपर्ने भन्दै हस्ताक्षर अभियान सुरु गरेको हो ।