कुनै पनि राष्ट्रले समृद्धि हासिल गर्नको लागि आफ्नो संस्कृति , दर्शन , मौलिकता र आफुसंग उपलब्ध साधन स्रोतको संरक्षण संवर्द्वन तथा सदुपयोगलाई अग्रपंक्तिमा राख्नुपर्छ । नेपाल संस्कृति , प्रकृति र ज्ञानको हिसाबले धनी देश हो । आफ्नो दर्शनको प्रवर्द्धन, प्रचार तथा विश्व बजारमा निर्यात नगरी अरुको दर्शनको प्रचार तथा आयात मात्र गरिराख्नु भनेको राष्ट्रलाई अझ धेरै गरिबीमा धकेल्नु सरह हो । अरब मुलुकहरुले आफूसँग भएको तेल भण्डारको सदुपयोग नगरी आफूसँग हुँदै नभएको स्रोतसाधनमा समय खर्चेको भए ती राष्ट्रहरु पनि नेपाल जस्तै गरिब मुलुकमा गनिन्थे । हामीसँग उपलब्ध दर्शन , मौलिकता , वेदसम्बद्ध ज्ञानको समुचित उपयोग , प्रचार गरेर त्यसको लाभ लिन सक्नु नेपालको आर्थिक समृद्धिको आधार हो ।
योग पुर्वीय दर्शनको आधार पनि हो । जसको मानव स्वास्थ्य तथा रोग निवारणमा ठूलाे भूमिका छ । योगको प्रवर्तक महर्षि पतन्जली त नेपालमै जन्मिएको धेरै प्रमाणहरु भेटिएको समाचार पढ्न पाईन्छ । योग सम्बन्धि विभिन्न घटना क्रमहरु नेपाल, भारत ,श्रीलंका र वर्मा जस्ता राष्ट्रहरुमा घटेका छन् । यसरी योग सबैको साझा सम्पत्ति भएकोले सबै राष्ट्रहरुले यसको विकास गर्नु, यसबाट लाभ लिनु सबैको समान कर्तव्य साथै अधिकार पनि हो । खास गरि कृषीप्रधान देश , हिमालयको देश , जडिबुटीको देश , ज्ञानभूमिको देश भनेर चिनिएको नेपालको समृद्धिको बलियो आधार पनि यीनै हुन् । नेपालले आफ्नो योग बिज्ञानलाई मात्र विश्व जगतमा पुर्याउन सक्यो भने योग मात्रैबाट पनि आर्थिक समृद्धि हासिल गर्न सक्छ । आफ्नो दर्शनसंग सम्बन्धित आयुर्वेद एवम् योग लगायतका उच्च एवम् दक्ष जनशक्ति उत्पादन गरेर विश्वब्यापी रुपमा फैल्याउन सके योगकै माध्यमबाट पर्यटक भित्र्याएर तथा जडिबुटीद्वारा निर्मित औषधि निर्यात गरेर देशले आर्थिक समृद्धि हासिल गर्न सक्ने थियो । पर- निर्भरता एवम् पर- संस्कृति ग्रहणको चपेटाबाट बाहिर नआउन्जेल समृद्धिको कुरा गर्नु दिवास्वप्न मात्र हुने भएकोले नेपालले आयुर्वेद तथा योग प्रवर्द्धनबाट वास्तविक समृद्धि हासिल गर्ने बाटोमा हिंड्नुपर्छ ।
दु:खको कुरा के छ भने हाम्रो देशमा पुर्वीय दर्शनका विधाहरुमा उच्च दक्षता हासिल गरेका जनशक्ति उत्पादन एवम् दर्शनसम्वद्द संस्थाहरु विकास धेरै खस्कदो अवस्थामा छ ।हिजोसम्म योगलाई बैज्ञानिक रुपमा स्वीकार गर्न अप्ठ्यारो मान्ने पश्चिमाहरु अहिले विश्व योग दिवस हामी भन्दा प्राथमिकताका साथ मनाउन थालेका छन् । पश्चिमा मुलुकहरुमा योग कक्षाहरु धमाधम संचालन हुन थालेका छन् । छिमेकी राष्ट्र भारतमा प्रतिवर्ष युरोपेली देशहरुबाट योग सम्बन्धि तालिम लिन आउन थालेका छन् । तर नेपालले विश्व स्तरमा योगको प्रचार प्रसार गर्न नसकेको अवस्था छ । योग नेपालको सनातन संस्कृति हो भनी प्रचार गर्न, प्रवर्द्धन गर्न तथा लाभ लिनको लागि विश्व समुदायलाई बुझाउन सकेको छैन।
योगज्ञान प्राप्तिको लागि भारत नै जानुपर्छ भन्ने विश्व मानसिकता भारतले बनाईसकेको अहिलेको अवस्थामा नेपाल भने चुकेको छ । अझ एक वाक्यमा भन्ने हो भने नेपाल ज्ञानभुमी, तपोभुमी हो भन्ने नारा केवल कथनमा मात्र सिमित रहेको छ ।
केही वर्षयता विश्व समुदायले योग शिक्षाको महत्त्व, यो मानव स्वास्थ्यको लागि कति लाभदायक छ भन्ने बुझ्दैगए संगै योग दिवस विशेष महत्वका साथ मनाउन थालेको पाईन्छ । नेपालको छिमेकी राष्ट्र भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी खुद योग संस्कृतिको महत्व तथा यसका आयामहरु प्रचारमा सक्रिय भएको देख्न सकिन्छ तर नेपालसंग पनि उत्तिकै सम्भावना भए पनि त्यो प्रयास गरिएको देखिदैन । नेपालले छिमेकी देशको सिको गरेर आयुर्वेद तथा योगको महत्व तथा नेपाल योग ज्ञान प्राप्ति तथा ध्यान गर्नको लागि उत्कृष्ट देश भएको सन्देश विश्व समुदायमा फैलाउनमा सफल भएमा लाखौं पर्यटक भित्र्याएर आर्थिक आत्मनिर्भरता हासिल गर्न सक्छ ।(लेखक डा. महतो हिमालय आयुर्वेद क्लिनिक नारायणगढका कन्सल्टेन्ट फिजिसियन हुन् )