चितवन । चितवनमा पछिल्लो ६ महिनामा ४२ वटा मानव अधिकार उल्लंघनका घटना भएका छन । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) चितवनले आज भरतपुरमा अर्धबार्षिक पूर्व समीक्षा कार्यक्रमको आयोजना गरी २०७७ पुष १७ देखि २०७८ असार १६ गतेसम्म भएका घटनाको जानकारी दिएको हो । ती घटना मध्ये सो अवधिमा सबै भन्दा बढी १३ वटा बालिका बलात्कारका घटना भएका छन । यस्तै बाल यौन दुरुपयोग १० वटा, महिला बलात्कार ६ वटा, बालिका बलात्कार प्रयास ३ वटा, बहुविवाह ३ वटा , महिला बलात्कार प्रयास २ वटा,बालिका वेचविखन, बालविवाह र आत्महत्या दुरुत्साहन १÷१ वटा घटना भएका थिए । गतबर्ष यसै अवधिमा ६० वटा मानव अधिकार उल्लंघनका घटना भएका थिए ।
समीक्षा कार्यक्रममा बोल्दै महिला अधिकारकर्मी एवं यौनजन्य हिंसा विरुद्ध साझा अभियानकी सह–संयोजक संगीता भट्टराईले २१ औं शताब्दीमा पनि महिला हिंसा नघट्नु चिन्ता र बहसको बिषय भएको बताइन् । महिला हिंसा न्यूनिकरणका लागि सोच परिवर्तन गर्नुपर्ने भन्दै उनले घटना घटाउनेका लागि दण्ड र सजायंँलाई मात्र नपुग्ने बताइन् । यसका लागि घटना लुकाउन नहुने र यसको विरुद्ध आवाज उठाउनुपर्ने उनको भनाई छ ।
नेपाल बार एशोसियन, चितवनका पूर्व अध्यक्ष जगन्नाथ भण्डारीले चितवनमा मात्रै नभई देशभर मानव अधिकार उल्लंघनका घटनामा बृद्धि हुंँदै गएको र कतिपय घटनामा नागरिकता नपाउंँदा पनि मानव अधिकार घटनामा कमी आउन नसकेको बताए । ‘नागरिकता नपाउनु नै सबैभन्दा ठूलो मानव अधिकार उल्लंघनको बिषय हो, उनले भने, नागरिता नपाएपछि मान्छे हरेक किसिमका अधिकार र न्यायबाट पनि वञ्चित हुन्छ ।’ मानवअधिकारका घटना राज्यको तर्फबाट अपराध र मानव अधिकारको तर्फबाट उल्लंघनका घटना भएको भन्दै उनले नेपालमा आर्थिक, सामाजिक ,सांस्कृतिक विभेदका कारण पनि यस्ता घटनामा न्यूनिकरण हुन नसकेको उनको भनाई छ । ‘यसैका कारण पीडितले न्याय नपाउने, निर्दोष फस्ने, पीडक उम्कने गरेका छन ।’ उनले भने ।
पत्रकार महासंघ, चितवनका अध्यक्ष नारायण अधिकारीले पत्रकारले संवेदनशील विषयमा कलम चलाउंँदा सम्वेदनशील हुनुपर्ने बताए । यस्ता घटना न्यूनिकरणको लागि मीडियाको भूमिका महत्वपूर्ण हुने भन्दै यस बिषयमा पत्रकारलाई तालिम दिनु आवश्यक रहेको बताए । अदालतमा विचाराधीन रुपमा रहेका मानवअधिकारका मुद्धाका बिषयमा खोतलेर र अतिरञ्जित गर्न नहुने उनको भनाई थियो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटीले मानवअधिकार उल्लंघनका घटनाले २१ औ शताब्दीको मानव सभ्यतामा चुनौति थपिएको बताए । पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगका कारण पनि यस्ता घटनाहरु बृद्धि हुंँदै गएको भन्दै मिडीयाले सत्यत्य बिषयवस्तु सचेतनामा जोड दिनुपर्ने उनको भनाई थियो ।