चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १८ स्थित चनौलीमा अत्याधुनिक चितवन चनौली शीत भण्डार सहकारी संस्था सञ्चालनको तयारीमा छ । सञ्चालनमा आएसंँगै यस सहकारी संस्था लिमिटेडमा शेयर सदस्य बढ्दै गएका छन । शीतभण्डार छिट्टैनै सञ्चालनको तयारीमा रहेसँगै शेयर सदस्य बन्ने किसानहरु बढेका हुन् । सस्तोमा कृषिउपज राख्न पाउने तथा उत्पादन खेर नजाओस भन्ने उद्धेश्यले शीतभण्डार सञ्चालन ल्याउन लागिएको हो ।
चितवन जिल्ला कृषि क्षेत्रको हब भएको र उत्पादनमा बृद्धि एवं खेर नजाओस भन्ने हेतुले शीतभण्डारको स्थापना गरिएको छ । शीतभण्डारमा पछिल्लो ६ महिनामा मात्र ३७० जना नयाँ शेयर सदस्य थपिएको छ । कृषि उत्पादन फलफूल, दुग्ध र मासुजन्य पदार्थको सुरक्षित भण्डारण गर्न २०७० वैशाख २७ मा निर्माण सुरू भएको शीतभण्डारमा हाल ७७५ शेयर सदस्य पुगेका छन ।
। शेयर सदस्य थपिएसँगै करीब साढे ३ करोड शेयर रकम थपिएको चितवन चनौली शीतभण्डार सहकारी संस्था लिमिटेडका अध्यक्ष सूर्यमणि पौडेलले जानकारी दिए ।
र हालसम्म कुल शेयर पुँजी ५ करोड ३४ लाखको हाराहारीमा रहेको उनले बताए । असार मसान्तसम्मलाई मात्र शेयर खुल्ला गरिएकोले सो अवधिमा किसानहरुको संख्या थपिंँदै गएको पौडेलको भनाई छ ।
करिब १५ करोड रूपैयाँको लागतमा सहकारी संस्थामार्फत स्टीलको संरचनामा बन्दै गरेको देशकै पहिलो र अत्याधुनिक लिफ्टसहितको पाँचतले चितवन चनौली शीतभण्डारको भवन निर्माणको काम सकिएर मेसिनरी जडानको काम अन्तिम चरणमा पुगेको छ । अब आउने असोजबाट जसरी पनि सञ्चालन गर्ने गरी काम भइरहेको जानकारी दिए ।
२५०० मेट्रिक भण्डारण क्षमता रहेको शीत भण्डारमा ५० प्रतिशत स्थान व्यवसायीहरुको लागि उपलब्ध गराइने र ५० प्रतिशत सहकारी तथा शेयर सदस्यहरुलाई उपलब्ध गराइने अध्यक्ष पौडेलले बताए । ‘शेयर सदस्यको लागि सहुलियतमा र व्यवसायको लागि अलग्गै गरी भण्डारणको गरिनेछ ।’ अध्यक्ष पौडेलले भने । देशकै नमुना, अत्याधुनिक र बढी क्षमता भएकोले देशभरका किसान तथा व्यवसायीले भण्डारण गर्न पाउने उनले बताए ।
शीतभण्डारमा हाल २ वटा लिफ्ट, ट्रान्सफर्मरलगायतका मेसिनरी सामानहरु जडानको काम भइरहेको छ । साउनसम्ममा ट्रान्सफर्मर जडान गरेर भदौमा मेसिन परीक्षण गरिने र असोजमा शीतभण्डार सञ्चालनमा ल्याईने बताए ।
भवन निर्माणसम्बन्धी काम दुई वर्षअघि नै सकिएको भन्दै पछिल्लो समय कोरोना कहरका बीचपनि कामलाई निरन्तरता दिइएको छ । निर्माण कम्पनीको ढिलासुस्ती लगायतका कारणले निर्माणमा ढिलाइ भएको बताउँदै उनले शेयर, पुँजी समयमा जुटाउन नसक्दा निर्माण कार्यमा ढिलाइ भएपनि अब समयमै सकिने उनले बताए । सो शीतभण्डार सञ्चालनमा आएसंँगै प्रत्यक्षरुपमा ३० जना भन्दा बढीले रोजगार पाउने उनको भनाई छ ।
मध्यमाञ्चल विकास कार्यक्रमअन्तर्गत स्थापना सुरू गरिएको शीतभण्डार हाल प्रदेश सरकार सहकारी विभाग मातहत रहेको छ । सार्वजनिक–निजी साझेदारीअन्तर्गत निर्माण गर्ने गरी शीतभण्डारको सिभिलसम्बन्धी काममा ५० प्रतिशत सरकारको र ५० प्रतिशत सहकारी संस्था एवं किसानको लगानी छ । मेसिनरीमा भने सरकारको ६० प्रतिशत र किसानहरुको ४० प्रतिशत हुनेछ । १५ करोडको लागत अनुमान गरिए पनि लगानी अझै बढ्न सक्ने र परियोजना सम्पन्न हुँदासम्म २० करोड लाग्न सक्ने अनुमान गरिएको छ । शीतभण्डारमा चितवनका ४४ वटा सहकारीहरुको लगानी रहेको छ ।
शीतभण्डारको क्षमता पच्चीस सय टनको र अत्याधुनिक लिफ्टसहितको हुनेछ । कृषिजन्य उत्पादन सुरक्षित तरिकाले भण्डारण गरी बेमौसममा समेत उपयोग गर्न पिपिसिपी मोडलको आधुनिक उपकरण भएका कारण कृषकका लागि यो उपयोगी र किफायती रहेको बताइएको छ ।
चनौलीमा शीतभण्डार सञ्चालन गर्ने निर्णयअनुसार विसं २०६९ असार २४ मा चितवन चनौली शीतभण्डार सहकारी संस्था लिमिटेड दर्ता गरिएको थियो । यस परियोजनाले सिजनमा उत्पादन भएका विभिन्न फलफूल तथा तरकारी बेमौसममा बिक्री गर्नेछ । परियोजनाले अतिरिक्त आम्दानीका लागि आइस तथा सोसँग सम्बन्धित उत्पादन गरी बिक्रीवितरण गर्ने बताएको छ ।
बेलायतमा एमबिएको पढाइ सकेपछि आफ्नै देशमा केही गर्ने दृढ सोचका साथ नेपाल फर्केर शीतभण्डारको लामो समयसम्म व्यवस्थापकीय भूमिकामा रहेर परिकल्पनालाई मूर्तरुप दिन सफल भएको उनको भनाई छ ।