चितवन । सुख्खा पहिरो खसेपछि मुग्लिन नारायणगढ सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।
ईच्छाकामना गाउंँपालिका वडा नम्बर ५ अन्तर्गत कालीखोला नजिकै चेपाङ्ग डांँडामा सुख्खा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । जिल्ला ट्राफिक कार्यालय ,चितवनका अनुसार आज बिहान सांँढे ४ बजेदेखि पहिरो सुख्खा पहिरो खस्न शुरु भएको थियो र बिहान पौने ७ बजे थप पहिरो झरेको हो ।
कार्यालयका प्रमुख भगवानराज थापाले लोडरले बिहान पहिरो पन्छाउन खोज्दा थप पहिरो गएर सडकखण्ड पूर्णरुपमा अवरुद्ध बनेको जानकारी दिनुभयो । ‘सांँढे ४ बजे खसेको पहिरो त सानै थियो , सफा गर्न लाग्दा त झन पहाडनै बग्यो ।’थापाले भन्नुभयो । हाल मुग्नितर्फको लोडरले पहिरो सफा गर्न लागेको र नारायणगढ तर्फको लोडर जांँदै गरेको उहांँले बताउनु भयो । पहिरो पन्छाउन न्यूनतम तीनघण्टा लाग्ने थापाको भनाई छ । ठूलो पहिरो खसेपछि सवारी जाम बढ्दै गएको भन्दै ट्राफिक प्रहरीले वैकल्पिक बाटो समेत अपनाउन आग्रह गरेको छ । पहिरो गएको स्थान मुग्लिनबाट नारायणगढतर्फ झण्डै ४ किलो मिटर टाढा पर्दछ ।


