चितवन । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धनले उत्साहजनक नतिजा ल्याएको बताएका छन् । उनले स्थानीय तहको मतपरिणामले दलहरुलाई सचेत बनाएको बताए । भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै स्वतन्त्र उम्मेदवारहरुले केही पालिकामा जित्दैमा दलहरुसँग जनता टाडिए भनेर विश्लेषण गर्न नमिल्ने बताए।
“राजधानी लगायतका केही ठाउँको मतपरिणामले दलहरुलाई सोच्न बाध्य तुल्याएको छ”, उनले भने, “गम्भीर समीक्षा हुनुपर्छ, केही नयाँ निर्णय लिनुपर्नेछ, नयाँ तरिकाले पार्टी चलाउने र जनतामाझ जानुपर्ने देखिएको छ ।” उनले स्थानीय तहको चुनावमा कांग्रेस पहिलो दल बनेकाले गठबन्धनलाई थप मजबुत बनाउनुपर्ने बताए ।
गठबन्धनले पैसा र प्रलोभन देखाएर जितेको एमाले अध्यक्षको ओलीको आरोपलाई खण्डन गरे । “उनले आरोप लगाउनुभन्दा आँफै ऐनामा गएर हेरे हुन्छ”, खड्काले भने, “देशभरको निर्वाचनमा उहाँहरु कसरी अगाडि बढ्नुभयो, हेर्नुभए हुन्छ, म कुनै टिप्पणी गर्दिन ।” ५ दलीय गठबन्धन चुनाव जित्न र हराउनमात्रै नभएर धेरै उद्देश्य लिएर बनेको तर्क उनको थियो ।
“गठबन्धन जितहारका लागिमात्रै भएको होइन, यसका धेरै उद्दश्यहरु छन्”, उनले भने, “ झण्डै २ तिहाई पाएको मतलाई त्यो बेलाको सरकारले साढे ३ वर्ष मुलुकलाई जसरी अधिनायकवाद उन्मुख प्रवृत्तिमा लगे, तत्कालीन नेकपा आन्तरिक द्वन्दमा प¥यो, त्यो दुर्घटना सम्हाल्नु परेको छ ।’