चितवन । चितवनमा जोर बिजोर प्रणाली अनुसार सार्वजनिक सवारी साधन सञ्चालन गर्न पाइने भएको छ । सार्वजनिक सवारी साधन र परीक्षा सञ्चालनलाई खुकुलो बनाएर असार ३१ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा थप गरिएको छ ।
जारी निषेधाज्ञालाई खुकुलो बनाउँदै जिल्ला प्रशासन कार्यालय चितवनले जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर भएका सार्वजनिक सवारी साधन समेत सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
सार्वजनिक सवारी साधन सञ्चालन गर्दा गाडी चालक र सहचालकले अनिवार्य मास्क लगाउनुपर्ने, मास्क नलगाएका यात्रुलाई गाडीमा प्रवेश नदिने र गाडीको ढोकामा अनिवार्य रुपमा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने प्रशासनले बताएको छ ।
त्यसैगरी, सवारी साधनलाई दैनिक निसंक्रमण गर्नुपर्ने र सिट क्षमता भन्दा बढी यात्रु बोक्न नपाइने प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । त्यस्तै २५ जना भन्दा बढी विद्यार्थी भेला नहुनेगरी भौतिक रुपमा नै उपस्थित भएर परीक्षा सञ्चालन गर्न पनि प्रशासनले अनुमति दिएको छ ।
२५ जना भन्दा बढी भेला हुने अवस्था आएमा सिफ्ट अनुसार सञ्चालन गर्नुपर्ने उनले बताए । राजमार्ग भएर अन्य जिल्लामा जाने सबै सवारी साधनहरु पनि सञ्चालन गर्न पाइने भएको छ । यसअघि थपिएको निषेधाज्ञाको अवधि असार २४ गते राति १२ बजे सकिँदै थियो ।