सर्लाही । सर्लाहीको रामनगर गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बर्माको निधन भएको छ । काठमाडौंमा उपचारका क्रममा शनिबार राति उहाँको निधन भएको गाउँपालिकाकी उपाध्यक्ष नितुदेवी यादवले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष बर्मा लामो समयदेखि मधुमेह तथा रक्तचापको समस्याबाट ग्रसित हुनहुन्थ्यो । अध्यक्ष बर्माको स्वास्थ्य अवस्था १०–१५ दिन पहिला राम्रो थियो, बीचमा एक्कासी स्वास्थ्यमा समस्या आएको भुपु निमित प्रसासकीय अधिकृत रामपुकार महतोले जानकारी दिनुभयो । ६७ वर्षीय अध्यक्ष बर्माको स्वास्थ्यमा अत्यधिक समस्या देखिएपछि यही असार १४ गते मेडिसिटी हस्पिटल भर्ना गरिएको थियो। ब्लड प्रेसर बढेपछि नाक र मुखबाट रगत आएको थियो। अध्यक्ष बर्मा सिकिस्त भएपछि आइसियुमा भर्ना गरिए पनि स्वास्थ्यमा सुधार नभएपछि गए राति उपचारका क्रममा १२ बजेर ५ मिनेटमा मृत्यु भएको रामनगर गाउँपालिकाका निमित प्रशासकीय अधिकृत कृष्ण कुमार यादवले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष बर्माको निधन भएपछि अहिले गाउँपालिका नै शोकमा डुबेको छ । अध्यक्ष बर्माको शव घर ल्याउने तयारी भइरहेको र हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिने रामनगर गाउँपालिकाले जनाएको छ । जिल्लाका २० स्थानीय निकाय मध्ये बर्मा २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट रामनगर गाउँपालिका अध्यक्षमा विजयी हुनुभएको थियो । अध्यक्ष बर्माको स्थायी घर रामनगर गाउँपालिका वडा नम्बर १ मा पर्दछ ।


