, चितवन । पहिरो पन्छाएपछि तीनदिन पछि नारायणगढ मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । दुईतर्फी सञ्चालनमा आउन भने एक साता लाग्ने भएको छ । जिल्ला ट्राफिक कार्यालय , चितवनका अनुसार चारकिलो,पाँचकिलो,सेतिदोभान,घोप्टेभिर र कुरिनटार मा गएको पहिरोको कारण उक्त सडकखण्ड दुईतर्फी अवरुद्ध बनेको थियो । बिहान सवा ९ बजे यी स्थानहरुको पहिरो पन्छाएर एकतर्फी रुपमा ल्याउन सकिएको ट्राफिक प्रमुख भगवानराज थापाले जानकारी दिए ।
सेती दोभानमा ठूलो पहिरो गएको र दासढुंगा नजिक ठूलो ढुंगा खसेकोले दुईतर्फी खुल्न अझै समय लाग्ने थापाले बताए । ‘एकतर्फी त सञ्चालनमा ल्याएका छौं थापाले भने, दुईतर्फी सञ्चालनमा आउन त एकहप्तानै लाग्ला ।’ उनका अनुसार सेती दोभानमा पहाडनै खसेकोले सबै पहिरो पन्छाएर सञ्चालनमा आउन समय लाग्ने भएको हो । दासढुंगा नजिक रहेको ठूलो ढुंगा भने फुटाउने काम भईरहेको उनले बताए ।
हाल अत्यावश्यक काम र विवाह कार्यक्रमका सवारीसाधनहरु गन्तव्य तर्फ पठाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
सवारीको अत्याधिक चाप बढेकोले ट्राफिक प्रहरीले चालकलाई आफनो लेन अनुसार र ट्राफिक संकेतको पालना गरी सवारी साधन सञ्चालन गर्न अनुरोध गरेको छ ।