चितवन । राप्ती नगरपालिका वडा नं १२ मा पहिरोमा परेर बेपत्ता हुने एकै परिवारका तीनजना चेपाङको भएको खुल्न आएको छ ।मोतीलाल चेपाङका तीन जना परिवार पहिरोमा बगेर हालसम्म पनि बेपत्ता भएका थिए ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार राप्ती १२ बाक्राङ भन्ने ठाउँमा एकान्तमा रहेको एकै घरका चार जनालाई पहिरोले बेपत्ता पारे पनि एकजनाको शव भेटिएको थियो । चितवन प्रहरी प्रवक्ता सूर्यबहादुर थापाले पहिरोमा बेपत्ता भएका मोतीलाल चेपाङको घरभन्दा ५० मिटर तल पुरेको अवस्थामा शव भेटिएको बताए । तर सडक अवरुद्ध भएका कारण सो ठाउँमा हालसम्म सुरक्षाकर्मी पुग्न सकेका छैनन् ।
पहिरोमा बेपत्ता भएका ३० वर्षकी निशा चेपाङ र ३० वर्षकै कृष्ण चेपाङ र ६ वर्षकी बालिका (नाम खुल्न नसकेको) को हालसम्म केही पत्ता नलागेको चितवन प्रहरीले जनाएको छ । विकट बस्ती भएकाले तत्काल त्यस स्थानमा पुगेर उद्धार गर्ने सम्भावना नरहेको राप्ती नगरपालिका प्रमुख प्रभा बरालले बताइन् । ‘तत्कालै त्यहाँ पुगेर उद्धार गर्न सक्ने सम्भावना छैन, सुरक्षाकर्मी पुग्दैछन्’ प्रमुख बरालले भनिन् ।
उनले पहिरोका कारण राप्ती १२ को १३ घरमा क्षति गरेको बताइन् । प्रमुख बरालले भनिन्, ‘१३ वटा घर बस्न नमिल्ने भएपछि सुरक्षित ठाउँमा सारिएको छ ।’ राप्ती ९ मा ३ वटा घरमा क्षति पुगेको उनले बताइन् ।
बाढीपहिरोले राप्ती–७, ८, ९, १०, ११, १२ नं वडाहरुमा केही न केही भौतिक क्षति भएको छ । राप्ती नगरपालिकाले क्षतिको विवरण निकाल्ने तयारी गरिरहेको छ । राप्ती प्रमुख प्रभा बरालले लोथर खोला र राप्ती नदीको असर नदेखिएको बताइन् ।