एजेन्सी । केही समयअधि भिडियो एप टिक टक सीमापार हुने अवैध यौन धन्दा र मानव तस्करीको माध्यम बनेको तथ्य बाहिर आएपछि सारा बंगलादेश स्तब्ध बनेको थियो ।
मे महिनाको अन्त्यतिर २२ वर्षीया बंगालादेशी युवतीलाई यातना दिएको र यौन आक्रमण गरिएको भिडियो सामाजिक सञ्जालमा फैलियो । उक्त भिडियोमा पीडित युवतीमाथि भारतीय सहर बैंगलोरमा यौन दुर्व्यवहार भएको थियो । भिडियो रेकर्ड गरेको आरोपमा बंगलादेशी पुरुष रिफादुल इस्लाम (टिक टक रिदोय पनि भनिने) सहित अन्य पाँच जना बंगालीलाई भारतीय प्रहरीले पक्राउ गरिसकेको छ ।
उक्त घटनाको केही दिनपछि तस्करीको जालमा परी भारत पुगेकी अर्की बंगलादेशी महिला भागेर ७७ दिनपछि घर आएकी थिइन् । ती महिलाले भारतबाट घर आउने बित्तिकै मानव तस्करी रोकथान तथा निर्मूल ऐनअनुसार मुद्दा समेत दर्ता गरिन् ।
ती दुई घटना बाहिर आएपछि बंगलादेशी प्रहरीले वृहत् अनुसन्धान थालनी गरेको थियो । प्रहरीको अनुसन्धानबाट मुलुकभित्रै मानव तस्करीको खतरनाक गिरोह सक्रिय रहेको पाइयो । अनुसन्धानका क्रममा विशेषगरी टिक टक प्रयोग गरी भर्खरका र अरुलाई चाँडै विश्वास गरिहाल्ने किशोरीहरुलाई जालमा फँसाएर उनीहरुलाई भारतको यौन बजारमा जबर्जस्त लगिने तथ्य समेत फेला परेको थियो ।
यौन धन्दाका लागि महिनाहरु विदेशमा बेचिने घटना बंगलादेशमा नयाँ भने होइन । पछिल्लो दशकमा मात्रै १२ देखि ३० वर्ष उमेर समूहका झण्डै ५ लाख बंगलादेशी महिला तथा किशोरीहरु अवैध रुपमा भारत लगिएको मानव तस्करीविरुद्ध काम गर्दै आएका गैरसरकारी संस्थाको तथ्याङ्कले देखाउँछ । तर टिक टकमार्फत् यति ठूलो मात्रामा मानव बेचविखन तथा तस्करी भएको यो संभवत: पहिलो पटक हो ।
बंगलादेशी प्रहरीले टिक टकमा सक्रिय हुने युवतीलाई add गर्दै आएको एउटा फेसबुक समूह समेत फेला पारेको थियो । पीडितसँग नजिकै हुँदै गएपछि उक्त समूहका सदस्यहरुले सुरुमा भारतमा राम्रो काम लगाइदिने भन्ने र अन्तिममा सीमाना जोडिएका जिल्ला हुँदै उनीहरुलाई भारत लैजाने गरेको प्रहरीको भनाइ छ ।
टिक टकमाथि संभावित प्रतिबन्ध
यस खाले तथ्य बाहिर आएपछि कानुन पालना गराउने बंगलादेशी निकायहरुले टिक टक र लाइकी (Likee) जस्ता अन्य सामाजिक सञ्जालमाथि निगरानी बढाएका छन् । अधिकारीहरुले यस्ता सञ्जालमाथि प्रतिबन्ध लगाउनेबारे समेत विचार गरिरहेका छन् ।
बंगलादेशको विशेष प्रहरी बल र्यापिड एक्शन बटालियन (RAB) का प्रवक्ता खान्दाहर अल मोइनले टिआरटी वर्ल्डसँग कुरा गर्दै टिक टक तथा लाइकीमाथि प्रतिबन्ध लगाउने गरी प्रस्ताव पेश गर्ने तयारी भइरहेको बताए ।
‘यस खाले एपले युवायुवतीमाथि नराम्रो असर पारिरहेका छन्’, मोइनले भने, ‘यसबाहेक, हामीले हालै टिक टक प्रयोग गरी सीमापार राम्रो काम लगाइदिने भनेर भर्खरका युवतीलाई एप प्रयोग गरी फँसाउने र भारतको यौन बजारमा लगेर बेच्ने मानव तस्करीमा संलग्न केही गिरोह फेला पारेका छौं ।’
मोइनका अनुसार सीमापार मानव तस्करी गर्ने यस्ता गिरोहमा कम्तिमा ५० जना सदस्य हुने गरेको र उनीहरुले पछिल्लो ५ वर्षमा १८ देखि २२ वर्षका करिब ५ सय युवतीहरुलाई भारतमा लगेर बेचिसकेका छन् । ‘यो कुरा हालै मात्र पत्ता लागेको हो’, उनले थपे, ‘टिक टक तथा लाइकीमाथिको निगरानी बढाएका छौं र यी प्ल्याटफर्ममाथि प्रतिबन्ध लगाउने समय आएको छ ।’
तर टिक टक तथा लाइकी जस्ता एपमाथि प्रतिबन्ध लगाउने अन्तिम अधिकार बंगलादेश दूरसञ्चार नियमन आयोग (BTRC) सँग रहेको पनि मोइनले बताए । ‘हामीले आयोगसमक्ष प्रस्ताव मात्रै पेश गर्न सक्छौं’, उनले भने ।
यता बंगलादेशका दूरसञ्चार मन्त्री मोस्ताफा जबारले टिक टक र लाइकीमाथि प्रतिबन्ध लगाउने भनेर औपचारिक प्रस्ताव आइ नसकेको बताए । यसअघि बंगलादेशमा २० हजार पोर्न साइट बन्द गरिसकेका जबारले टिक टक जस्ता प्ल्याटफर्मले फाइदाभन्दा हानी धेरै गर्ने पनि बताए । ‘यस्ता प्ल्याटफर्मका कारण युवायुवतीहरुले बाटो बिराइरहेका छन्’, उनले भने ।
यसअघि समेत सन् २०१८ मा बंगलादेशले टिक टकसम्मको पहुँचमाथि प्रतिबन्ध लगाएको थियो । त्यस्तै गत वर्षको अगस्टमा बंगलादेशबाट अपलोड गरिएका १० वटा भिडियो हटाउन कम्पनीसमक्ष अनुरोध गरिएको थियो । गत वर्षको डिसेम्बरमा टिक टक, लाइकी तथा Bigo Live जस्ता एपले युवा पुस्तालाई हानि गरेको भन्दै सर्वोच्च अदालतले प्रतिबन्ध लगाउन उच्च अदालतसमक्ष रिट निवेदन दर्ता गरेको थियो ।
बंगलादेशमा प्रतिबन्धले काम गर्ला त ?
अहिलेको ‘short attention span’ (अर्थात् छोटो समय कुनै कुरामा ध्यान दिने प्रवृत्ति ) युगमा टिक टक वा लाइकी जस्ता प्ल्याटफर्म अपरिहार्य बनिरहेकको बंगलादेशका सामाजिक सञ्जाल विश्लेषक असरुफ उल जुबायर बताउँछन् ।
‘टिक टक सामग्री बनाउन लागि थोरै सेट-अप अर्थात् एउटा स्मार्ट फोन र इन्टरनेटको सुविधा भए पुग्छ, युटुबरले प्रयोग गर्ने व्यवसायिक उपकरण चाहिँदैन’, जुबायरले भने, ‘यही भएर आर्थिक रुपमा विपन्न मानिसले समेत साइबर मनोरञ्जनको दुनियाँमा सहभागी हुन र सामग्री बनाउन सक्छन् ।’ यही कारण भर्खरका युवतीहरु भिडियो अपलोड गर्न उत्साहित हुने र पछि यौन तस्करीको शिकार बन्ने गरेको उनको भनाइ छ ।
तर अहिले टिक टक वा लाइकीमाथि पूर्ण प्रतिबन्ध लगाउने कार्य प्रभावकारी नहुने जुबायर बताउँछन् । ‘यी कुरामा भिपिएनमार्फत् मानिसहरुले पहुँच प्राप्त गर्न सक्छन्’, उनले भने, ‘यस्तो प्रतिबन्धले ती एपको प्रयोगलाई नियन्त्रण गर्न सक्दैन ।’
बंगलादेशको राष्ट्रिय महिला वकिल महासंघ एवं गृह मन्त्रालयको मानव तस्करी अनुगमन सेलकी सल्लाहकार सल्मा अलीले भारतमा ढाकाका युवती तस्करी हुने घटनालाई डरलाग्दो अपराधको रुपमा लिनुपर्ने बताउँछिन् । यस्तो घटनाले कानुन पालना गराउने निकायको ठूलो असफलतालाई समेत झल्काउने उनको भनाइ छ ।
‘तस्करी गिरोहको पीडितसम्म सहज पहुँच (अर्थात् गिरोहले विद्यालय, कलेज पढ्ने युवतीलाई लक्षित गर्ने र कहिलेकाही गृहिणीहरुलाई समेत लक्षित गर्ने) ले बंगलादेशमाडिजिटल साक्षरता र डिजिटल सुरक्षाबीच ठूलो खाडल भएको संकेत गर्छ’, अलीले भनिन्, ‘सरकारले टिक टक र लाइकी जस्ता प्ल्याटफर्ममाथि प्रतिबन्ध लगाउनुको साटो यस्ता प्ल्याटफर्ममार्फत् अपराध नहोस् भनेर निगरानी गर्ने उपयुक्त विधि अपनाउनुपर्छ ।’
(टिआरटी वर्ल्डबाट)