चितवन।दोस्रो राष्ट्रिय महिला लिग फुटबलमा धनगढीले फराकिलो जित निकालेको छ । आज (शुक्रवार) भएको पहिलो खेलमा धनगढीले वालिङलाई ६-० ले स्तब्ध पार्यो ।
भरतपुर १९ स्थित शारदानगर माविको मैदानमा भएको खेलमा धनगढीलाई जिताउन चन्द्रा भण्डारीले चार गोल गरिन् । अन्जना थुलुङ राई र सीमा रावलले समान एक-एक गोल गरे ।
खेलको पहिलो र दोस्रो हाफमा समान तीन-तीन गोल भएको थियो । एकतर्फी खेलको १० औं मिनेटमा सीमाको गोलबाट धनगढीले अग्रता लियो । २९ औं मिनेटमा चन्द्राले गोल गर्दै धनगढीको अग्रता दोब्बर बनाइन् । ३५ औं मिनेटमा चन्द्राले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा धनगढीलाई ३-० को अग्रता दिलाइन् ।
दोस्रो हाफमा धनगढीले तीन गोल थप्यो । दोस्रो हाफको दोस्रो मिनेटमा नै चन्द्राले हृयाट्रिक पूरा गरिन् । ७० औं मिनेटमा अन्जनाले धनगढीका लागि पाँचौ गोल गरिन् । ७३ औं मिनेटमा चन्द्राले व्यक्तिगत चौथो गोल गरेपछि धनगढीले ६-० को फराकिलो जित दर्ता गर्यो । चन्द्रा नै खेलको प्लेयर अफ दि म्याच भईन् ।
लिगमा आज नै थप दुई खेल हुनेछ । दिउँसो २ बजे चन्द्रपुर र ललितपुर तथा ४ बजे विराटनगर र नेपाल पुलिस क्लबबीच हुनेछ ।
यस पटक लिगको पहिलो चरणका खेलहरु चितवनको भरतपुरमा आयोजना गरिएको हो । डबल राउण्ड एण्ड रोबिनको आधारमा हुने लिगको पहिलो चरणका २८ खेलहरु भरतपुर १९ शारदानगर स्थित खेल मैदानमा हुनेछ । पहिलो चरणका खेलहरु चैत ३० गतेसम्म हुनेछ । दोस्रो चरणका २८ खेल विराटनगरमा हुनेछ ।
लिग विजेताले २० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १० लाख पाउनेछ । तेस्रो हुने टोलीले पाँच लाख तथा चौथोले तीन लाख प्राप्त गर्ने एन्फाले जानकारी दिएको छ । यस्तै फेयर प्ले टिमले एक लाख पाउनेछ । लिगको सर्वोकृष्ट खेलाडीले स्कुटर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट स्ट्राईकरले समान ५०-५० हजार तथा उदयमान खेलाडीले २५ हजार प्राप्त गर्नेछन् । हरेक खेलको प्लयर अफ दि म्याचले दश हजार प्राप्त गर्नेछन् ।