काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले अविरल वर्षासागै देशका विभिन्न भागहरुमा आएका बाढि र पहिरोको कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । आज (मंगलबार) एक विज्ञप्ती निकाल्दै उनले पहिरोमा परी निधन भएकाहरुमा श्रद्धाञ्जली अर्पणसमेत गरेका छन् । र, घाईतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।
दाहालले बाढि र पहिरोमा परी हराईरहेकाहरुको यथाशिघ्र खोजी गर्नपनि सरकारसँग आग्रह गरेका छन् । मौसमविद्हरुको पूर्वानुमानको ख्याल नगरी र विगतका प्राकृतिक प्रकोप न्यूनीकरण र रोकथामका उपायहरुको अनुभव समेतको वेवास्ता गर्ने सरकारी रबैयाका कारण धनजनको यति ठूलो क्षति भएको दाहालको आरोप छ । उनले अघि भनेका छन्–‘हरेक वर्ष वर्षायाममा तराई मधेस डुब्ने र पहाडी भू–भागमा पहिरो जाने समस्याको दीर्घकालिन हलका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै तत्काल उद्धार र राहत कार्य प्रभावकारी बनाउन सरकारसँग विशेष आग्रह गर्दछु ।
त्यस्तै, उनले बाढीपहिरोमा परी ज्यान गुमाएका परिवारलाई उचित क्षतिपूर्ति, बेपत्ताहरुको खोजी र घाइतेहरुको निःशुल्क स्वास्थ्योपचारका लागि सम्बन्धित सबैमा अनुरोध पनि गरेका छन् ।