काठमाडौँ। नेपाल–तिब्बत आवतजावतका लागि राणा प्रधानमन्त्री चन्द्रशम्शेरले बनाएको झोलुङ्गे पुल ईन्द्रावती नदीमा मंगलवार आएको बाढीले बगाएको छ ।
सिन्धुपाल्चोक स्थायी घर भएका नेपाल पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहालले सो पुल बनेपछि मेलम्चीमा बजारको शुरूवात भएको जानकारी दिए ।
‘नेपाल–तिब्बत आवतजावत गर्न सहज पार्न चन्द्रशम्सेरले विक्रम संवत् १९८४–८५ सालमा स्कटल्यान्डका प्रविधिकहरूबाट ईन्द्रावतीमा बनाएको ऐतिहासिक झोलुङ्गे पुल पूरै बगाएर मेलम्ची बजारको अस्तित्वमा नै बाढीले आक्रमण गरेको छ । यही पुल बनेपछि सो बजारको शुरूवात भएको थियो,’ दाहालले ट्विटरमा लेखेका छन् ।
मंगलवार रातिदेखि आएको बाढीका कारण मेलम्ची बजारका कैयौं पक्की घरमा क्षति पुगेको छ । बजारका अधिकाशं घरका पहिलो तलामा बाढीसँगै आएको माटो पसेको छ ।
मेलम्ची बजार आसपासमा फसेकाहरूको उद्धारका लागि नेपाली सेनाको टोली बिहानैदेखि खटिएको छ । बाढीका कारण केही मानिस बेपत्ता भए पनि संख्या यकिन भएको छैन ।