काठमाडौ। बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगका अध्यक्ष डा. श्रीकृष्ण गिरीलाई नाजायज दबाब दिएको भन्दै बृहत् नागरिक आन्दोलन र सोलिडारिटी फर डा. केसी अलायन्सले विरोध जनाएका छन्। आइतबार विज्ञप्ति जारी गर्दै उनीहरुले ‘प्रधानमन्त्री निवासलाई नै गुण्डागर्दीको थलो बनाउनु आपत्तिजनक’ भनेका छन्।
‘आज ३० गतेका दिन प्रधानमन्त्री तथा आयोगका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई बालुवाटार बोलाइ प्रक्रिया मिचेर बीएण्डसीलाई सम्बन्धन दिने निर्णयमा हस्ताक्षर गर्न नाजायज दबाब दिएका छन्। शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ र स्वास्थ्यमन्त्री शेरबहादुर तामाङसमेतले उपाध्यक्ष डा. गिरीलाई हस्ताक्षर वा राजीनामा गर्न धम्कीसहित चरम दबाब दिएपछि अहिले डा. गिरीको भौतिक र मानसिक सुरक्षामा चुनौती खडा भएको छ। राज्यशक्तिको चरम दुरुपयोग गर्दै देशका प्रधानमन्त्री र मन्त्रीहरुले नै एउटा स्वायत्त निकायका कार्यकारी प्रमुखमाथि गरेको यस्तो ज्यादती भर्त्सनायोग्य छ। मेडिकल शिक्षालाई सीमित नाफाखोर आसेपासेको हातमा सुम्पेर देशको स्वास्थ्य प्रणाली नै धराशायी पार्ने चेष्टा स्वयम्मा भत्सर्नायोग्य छँदै छ, एउटा लोकतान्त्रिक मुलुकको प्रधानमन्त्री निवासलाई नै गुण्डागर्दीको थलो बनाउनु झनै आपत्तिजनक छ,’ विज्ञप्तिमा भनिएको छ।
यही जेठ २८ गते बसेको चिकित्सा शिक्षा आयोगको बैठक बसेको थियो। तर बैठकमा बीएण्डसी मेडिकल कलेजको सम्बन्धनबारे चलेको छलफल निष्कर्षविहीन भएको थियो। सो बैठकमा विज्ञ सदस्यहरुले आवश्यक प्रक्रिया पुर्याएर मात्रै सम्बन्धन दिनुपर्ने कुरा राखेका थिए।नेपाललाईभबाट