चितवन । देशभर रसायनिक मल सहज भईरहेको खबर सम्प्रेषण भईरहेका बेला चितवनको बास्तविकता भने फरक पाईएको छ । चितवनमा केही स्थानहरुका किसानले सहजरुपमा मल पाएका छन भने कतिले पाएका छैनन । अधिकांश पहुंँच हुने र टाठाबाठाले पटक – पटक मल पाए पनि सोझा साझा किसानले भने एकपटक नपाएको गुनासो छ ।
कृषि सामाग्री संस्थान , चितवनका अनुसार मंगलबारसम्म २ हजार ७सय ९९ बोरा युरिया, ७९८ बोरा डिएपी र १२३ बोरा पोटास मौज्दात छ । कार्यालयका प्रमुख राजन वगाले चितवनमा विगतका बर्षहरुको तुलनामा मलको आपुर्ति र वितरण केही सहज भएको दाबी गर्छन । ‘अहिले स्थानीय तहको सिफारीश अनुसार मलको माग र वितरण हुन्छ ’वगालेले भने । सबै स्थानमा सन्तुलित ढंगलेनै मल वितरण हुन्छ ।’
जिल्लाका कृषि सहकारी संस्थाहरुले सिफारीशका आधारमा मल विक्री वितरण गर्दै आएका हुनाले पनि प्रत्येक किसानले मल पाएको उनीहरुको भनाई छ ।
जिल्लामा कृषि सामाग्री र साल्ट ट्रेडिङ्ग कम्पनीले मल विक्रि वितरण गर्दै आएका छन । मलको आपुर्ति र वितरण दैनिक रुपमा हुने र मौज्दात नरहने साल्ट ट्रेडिङ्ग कम्पनीका प्रमुख बुद्धि विनोद दाहाल बताउंँछन । ‘सबै मल अहिले नियमित जस्तो आउंँछ । उनले भने,जसरी आउंँछ मौज्दात नराखी सोही अनुसार सहकारीलाई वितरण गरिन्छ ।’ उनका अनुसार जेठ महिनाको २५ गते मंगलबारसम्म कम्पनीले युरिया, डिएपी र पोटास गरी ४ हजार २सय बोरा मल वितरण गरेको छ भने चालु आर्थिक बर्षको बैशाखसम्म सबै मलगरी ७२ हजार ६० बोरा बिक्री वितरण गरिसकेको छ । प्रमुख दाहालले स्थानीय तहको सिफारीशको आधारमा कम्पनीले मल वितरण गर्ने भएकोले कम्पनीलाई मल अभाव र सहजताको बारेमा थाहा नहुने बताए । हाल कम्पनीमा कत्ति मल मौज्दात छ त्यो बिषयमा पनि जानकारी दिन नमिल्ने उनले बताए ।
यो समयमा चितवनमा पूर्वी चितवन तिर धान रोप्ने बेला भएको र पश्चिम चितवनतिर धानको बीउ लगाउने समय भएकोले मलको त्यति चाप नभएको उनको भनाई छ । ‘डिएपी भन्दा बढी युरिया मलको माग पनि बढी हुन्छ अभाव पनि युरियाकै हुन्छ ।’ दाहालले भने । जिल्लाका कृषि सहकारीहरुले पनि मलको आपुर्ति अनुसार किसानको जग्गाको क्षेत्रफलको आधारमा मल वितरण गरेको बताउंँछन ।
खैरहनी नगरपालिका वडा नम्बर १० स्थित महिला साना किसान तथा सहकारी लिमिटेडका सहायक प्रबन्धक कमला सुयंँल हाल सो क्षेत्रमा रोपाई गर्ने बेला भएकोले युरिया मलको अत्याधिक माग रहेको बताउंँछिन ।‘ किसानहरुले फोन गरेर मलको बारेमा सोधिरहेका छन । हामीले नाम लिष्टिङ्गको आधारमा रेकर्ड राखेका छौं ।’सुयंँलले भनिन । मल अभाव हुन्छ भन्ने हल्लाले कतिपय किसानले मल छर्ने समय भन्दा अगावै लगेर राख्नको लागि मलको माग गर्दै आएको सुयंँलको भनाई छ । उनका अनुसार स्थानीय तहको सिफारीशकै आधारमा मल वितरण गरिएको भएपनि किसानको माग अनुसार भने मल वितरण पुरा गर्न सकिएको छैन ।
मलको आपुर्ति यो बर्ष केही सहज भएको देखिएपनि मागभन्दा आधा मात्र मलको आपुर्ति हुने गरेको बताउंँछन कृषि ज्ञानकेन्द्र चितवनका प्रमुख राजन ढकाल । ‘सबै स्थानमा सन्तुलित ढंगले मल वितरण भएको छ भन्ने त छैन ढकालले भने, तर स्थानीयतहको सिफारीसको आधारमा मल वितरण हुने भएकोले वितरण प्रणाली केही प्रभावकारी भने छ ।’ अझैपनि कतिपय स्थानीय तहले आफ्नो वडाका किसानको तथ्यांक, विवरण ढिला पेश गरेको हुनाले सबै किसानको पहुंँचमा एकैपटक मल नपुग्ने गरेको ढकालको भनाई छ । ‘मलको अभाव भन्दा पनि वितरण र व्यवस्थापन चुस्त र दुरुस्त हुनुपर्यो उनले भने, पहुंँच हुनेले बढी लाभ लिएको र पहुंँच नहुनेले पाएका छैनन ।’