काठमाडौ। प्रधानमन्त्री केपी शर्मा अोलीले मन्त्रिपरिषद् विस्तार गर्दा कूटनीतिक राहादानी दुरुपयोग गरी मानव तस्करी गरेको गम्भीर अभियोग लागेका नारद मुनि रानालाई मन्त्री बनाएका छन्। उनीविरुद्ध कूटनीतिक राहदानी (रातो पासपोर्ट) दुरुपयोग गरी मानव तस्करी गरेको अभियोग लागेको छ। मुनिविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामै छ।
रातो पासपोर्टको दुरुपयोग गरी मानव तस्करीमा सघाएको आरोपमा उनलाई २० असार ०६८ मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको थियो। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा (देउवा)लाई पराजित गरेर प्रत्यक्षतर्फ निर्वाचित नारद मुनि रानालाई ओलीले वन तथा वातावरण मन्त्रीको जिम्मेवारी दिएका हुन्।
तत्कालीन संविधान सभाका सदस्य एवं व्यवस्थापिका संसदका सांसदहरूको हैसियतमा प्राप्त भएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) दुरुपयोग गरी मानव तस्करी गरेको मुद्दा सर्वोच्चमा पेसी चढ्ने र मुद्दाका विवरण मगाउने आदेश हुँदै आएको छ। अन्तिम सु्नुवाइका लागि योग्य भएको यो मुद्दा कोरोनाका कारण देशभर लकडाउन भएपछि अघिल्लो वर्ष पेसीमा चढ्न सकेको थिएन। उनीविरुद्ध राहदानी ऐनअुनसार सरकारी वकिलले मुद्दा दायर गरेको थियो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
उनको रातो पासपोर्टमा फोटो परिवर्तन गरी म्याग्दीका निर्मल बाँनिया ११ डिसेम्बर २०१० मा अस्ट्रेलिया उडेका थिए। आर्थिक लाभ लिएर उनले आफ्नो रातो पासपोर्टमा मानव तस्करी गरेको सीआईबीको अनुसन्धानबाट खुलेको थियो।