चितवन । भरतपुर महानगरको मुख्य सहरी क्षेत्रका चोकहरुमा ‘हाइमास्ट लाइट’ जडान गरिने भएको छ । भरतपुर महानगरपालिकाले उज्यालो सहर अभियानअन्तर्गत मुख्य सहरी क्षेत्रका चोकहरुमा ‘हाइमास्ट लाइट’ जडान गरिने जनाएको छ ।
भरतपुर महानगर प्रमुख रेनु दाहालका अनुसार महानगरका मुख्य सहरी क्षेत्र जिल्ला प्रशासनचोक, हाकिमचोक, चौबिसकोठी, वीरेन्द्र क्याम्पसचोक, सहिदचोक, पुलचोक, पोखरा बसपार्क, आँपटारी चोक र मालपोत चोकमा हाईमास्ट बत्ती जडान गरिनेछ । भरतपुर महानगर र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजनाको संयुक्त साझेदारीमा ‘हाइमास्ट लाइट’ जडान गरिनेछ ।
यस्तै, उज्यालो अभियानअन्तर्गत ७८ दशमलब १ किलोमिटर सडक क्षेत्रमा एक हजार ९३३ बत्ती जडान गरिने छ । मूल्य अभिवृद्धि करसहित रु ११ करोड ४९ लाख ८९ हजार ३०० ठेक्का सम्झौता भएसँगै सेफ स्टिल÷सूर्योदय ऊर्जा÷टपशन जेभिले शुक्रनगरबाट काम सुरु भएको छ । अगामी वैशाखसम्म काम सम्पन्न हुने जनाइएको छ । हाकिम चोक–गीतानगर–जगतपुर सडक खण्डको १८ दशमलब ४६ किलोमिटर सडकमा ४०१ सडक बत्ती जडान हुनेछन् ।
चौबिसकोठीदेखि मेघौलीसम्म २३ दशमलब ८ किमीमा ५६९, मङ्गलपुरदेखि शुक्रनगरसम्मको २२ दशमलब १३ किमीमा ६५२, पुल्चोकदेखि दियालो बङ्गलासम्मको २ दशमलब ४२ किमीमा सडक खण्डमा ५८ सडक बत्ती जडान हुनेछ । यसैगरी दियालोबङ्गलादेखि जिल्ला प्रशासन कार्यलयसम्मको ७ दशमलब ८६ किमीमा १६५, बसेनीबजारदेखि लामाटोलसम्मको २ दशमलब १७ किमीमा ५० र वीरेन्द्र क्याम्पस चोकदेखि विशालचोकसम्मको १ दशमलब २६ किमीमा ३८ स्मार्ट सडक बत्ती जडान गरिनेछ ।