काठमाडौँ। फुटबल खेलाडी विमल घर्तीमगरले नेपालको झण्डा अंकित जर्सी लाएर छातीमा हात राख्दै मनदेखि राष्ट्रिय गान गाउन पाउँदाको क्षण अन्य कुनै पनि कुरासँग तुलना गर्न नसकिने बताएका छन् ।
मंगलबार दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले मौरिससलाई हराएपछि विमलले सामाजिक सञ्जाल फेसबुकमार्फत धेरै पछि पुनः नेपाली खेलक्षेत्रमा फर्किएको खुशी व्यक्त गरेका हुन् ।
करिब ४० महिनापछि नेपाली खेल क्षेत्रमा फर्किएका मगरले स्ट्याटसमार्फत सूर्य उदाउनका लागि नै अस्ताउने हो भन्दै लामो समय मैदानबाहिर नरहँदा पनि राष्ट्रप्रति सधैँ शतप्रतिशत साथ रहेको उल्लेख गरेका छन् । उनले अगामी दिनहरुमा पनि दर्शकको माया र प्रशिक्षकको विश्वासलाई सधैँ आत्मसात गर्ने प्रतिज्ञा समेत व्यक्त गरेका छन् ।
उनले मोरिसससँगको पहिलो खेलमा शनिबार गोल गरेका थिए । यसैगरी, मंगलबार भएको खेलको १०औँ मिनेटमा सुजल श्रेष्ठले गरेको गोल नै नेपालको लागि निर्णायक गोल बन्न सफल भएको थियो ।