चितवन । पुल्चोक गोन्द्राङ निर्माणाधीन सडकको वसन्तपुरमा पछिल्लो डेढ महिनामा दुई दुर्घटना भयो । दुई दुर्घटनामा दुई जनाको मृत्यु भयो ।
सोमबार वसन्तचोकमा कन्टेनर पल्टिँदा चालकको मृत्यु भयो । अन्दाजी ३२ वर्षका सर्लाही लालबन्दीका मेघराज खत्रीको उपचारको क्रममा मृत्यु भयो ।
भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको प्रदेश ०३–००१–००५ ख ९९७० नम्बरको कन्टेनर सोमबार दिउँसो भरतपुर महानगरपालिका १२ बसन्तचोकमा आफैँ अनियन्त्रित भई बिजुलीको खम्बामा ठोक्किएको थियो । कन्टेनरले ठक्कर दिँदा दुईवटा बिजुलीका खम्बाहरु ढलेका थिए ।
यस्तै, पुस २ भरतपुर वसन्तचोकमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भयो । २ वर्षकी बालिका दिपिका जोशीको मृत्यु भएको हो । वागमती प्रदेश ०३–००१ ख १३०६ नम्बरको ट्रकले बालिकालाई ठक्कर दिएको थियो । आमासँगै हिँडेकी बालिकाको घटनास्थलमै मृत्यु भएको थियो ।
पछिल्लो समय वसन्तचेकमा दुर्घटना बढ्न थालेको स्थानीय बताउँछन् । सडक निर्माणाधीन अवस्थामा रहेको हुँदा साँघुरो छ, निर्माण सामगी यत्रतत्र छरिएका छन् । जसका कारण दुर्घटना बढेको स्थानीयको भनाइ छ । भरतपुर महानगरले निर्माणाधीन सडकमा सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ ।