चितवन। उत्पादन बढ्दै गएपछि पोखरीमा अक्सिजनको अभाव हुँदा माछा मर्न थालेका छन् । तयार भएका माछा किसानले पोखरीबाट निकाल्न नपाउँदा अक्सिजनको अभाव भएको हो । रत्ननगर नगरपालिका वडा नम्बर ९ का किसान भरत महत्तो विक्रीका लागि तयारी माछा निकाल्न नपाउँदा र माछाको संख्या बढ्दै जाँदा अक्सिजन अभाव भएर माछा मर्न थालेको बताउँछन् ।
भरतपुर महानगरपालिका वडा नम्बर २६ का किसान खगेन्द्र सुबेदी निशेधाज्ञा अघिनै तयार भएका माछा हालसम्म पनि बिक्री नभएपछि अक्सिजनको अभाव भएको बताउँछन् । ‘एउटै पोखरीमा ठूला र साना माछा खचाखच छन’, उनले भने, ‘जसलेगर्दा पोखरीमा अक्सिजनको मात्रा पर्याप्त हुँदैन ।
संघका अध्यक्षसमेत रहेका सुबेदीले पानीको तह बढ्दा माछा निकाल्न नसकिने र घट्दा अक्सिजनको अभाव हुँदा माछा मर्न थालेको बताए । उनले भने, ‘अहिले विक्रीभन्दा पनि माछा कसरी बचाउने भन्ने मुख्य चुनौति छ, उनले भने, निशेधाज्ञा खुकुलो भयो भने नोक्सान कम होला ।’
संघका अनुसार चितवनमा २ हजार ३सय ८६ ओटा पोखरी छन्, जहांँ ८५४ हेक्टरमा माछापालन हुदै आएको छ भने यहांँ १ हजार ३०० जना माछापालक किसान रहेका छन् ।
महासंघका अनुसार देशभर २० हजारभन्दा बढी माछापालक किसान रहेका छन् । वार्षिक १० अर्ब रुपैयाँको हाराहारीमा माछाको कारोबार हँुदै आएको छ भने देशको कुल मागको ८० प्रतिशत हिस्सा स्वदेशी उत्पादनले ओगटेको छ । २० प्रतिशत माछा मात्रै भारतलगायत अन्य देशबाट आउने गरेको महासंघले बताएको छ ।