चितवन । चितवनमा आज (शनिबार) ७८१ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य कार्यालय चितवनको तथ्यांकअनुसार शनिबार ६३ जना नयाँ संक्रमित थपिँदा ७८१ जना संक्रमणमुक्त भएका हुन्। यो संगै चितवनमा १४ हजार २८५ जना कोरोना संक्रमित हुँदा ११ हजार ३६९ जना संक्रमणमुक्त भएका छन्। ७८१ जना संक्रमणमुक्त भएपछि चितवनमा अब दुई हजार ७०० जना सक्रिय संक्रमितको विभिन्न अस्पताल तथा आइसोलेसन केन्द्रहरुमा उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
उपचाररत सक्रिय संक्रमितमध्ये दुई हजार ५२९ जना होम आइसोलेसनमा बसेर स्वास्थ्य लाभ गरिरहेका छन् भने २६ जना स्थानीय तहले स्थापना गरेको आइसोलेसन केन्द्रहरुमा उपचाररत छन्। बाँकी १४५ जना भने जिल्लाका विभिन्न अस्पतालमा उपचाररत रहेको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन्।
यस्तै चितवनमा आज कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । जिल्लाका विभिन्न अस्पतालमा कोरोनाबाट ७ जनाको मृत्यु भएको हो । भरतपुर अस्पतालमा ३ जना, पुरानो मेडिकल कलेजमा २ जना, चितवन मेडिकल कलेजमा १ जना र बिपी कोइराला क्यान्सर अस्पताल भरतपुरमा १ जनाको मृत्यु भएको हो । त्यसमध्ये चितवनका १ जनाको मात्र मृत्यु भएको हो ।