काठमाडौं। गोरखा जिल्ला घर भएकी २० वर्षीया र २२ वर्षीया युवति बेचिनबाट जोगिएका छन्। शुक्रबार उनीहरुलाई आफन्त नेपाल, प्रहरी, स्थानीयले वीरगन्जबाट उद्धार गरेको हो।
श्रीमान विदेशमा रहेका गोरखा माईती र घर तनहुँ भएकी युवतीलाई उनकै आफ्नै आमाजु र आमाजुका श्रीमानले बेच्न प्रयास गरेको खुलेको छ। सीता क्षेत्री भनेर चिनिने सकिना खातुन (आमाजु) र अगसुर सैफि (आमाजुका श्रीमान)ले दुबैलाई बेच्न भारत लग्दै गरेको क्रममा प्रहरीले पक्राउ गरेको हो।
उनीहरुले बाँकेको नेपालगञ्जमा एक घण्टा पूजाका लागि कन्या तथा चोखो युवती चाहिएको बताउँदै त्यहाँ पूजा गरेबापत १ लाख पाउने लोभ देखाउँदै उनीहरुलाई नेपालगञ्ज पु¥याउने योजना बनाएका थिए। सोही योजना अनुासर तनहुँबाट टिप्परमा चढाइ जेठ १७ गते वीरगञ्ज ल्याई बसपार्कको एक होटलमा उनीहरुलाई राखिएको थियो। त्यहाँ पुगेपछि दम्पत्तिले भारतको बेतिया जानपर्ने भयो भन्दै ती युवतीहरुलाई सीमा नजिकै पुर्याउने बताएको आफन्त नेपाल वीरगञ्जका संयोजक मनु रानाले बताइन्।
त्यहाँ पुगेपछि उनीहरुले तराईवासी मात्र देखेपछि रिचार्ज किन्ने बहाना बनाई पसलमा गई बेतिया भन्ने ठाउँ कहाँ हो भनि सोध्दा भारत हो भनेपछि आफूहरु जोखिममा रहेको महसुस गरेको संयोजक रानाले बताए। उनले ती युवतीहरुले स्थानीयको सहयोगमा पुलिसलाई बोलाएको रानाले बताइन्।
पक्राउ परेका ती दम्पत्तिलाई जिल्ला प्रहरी कार्यालय पर्साले आवश्यक अनुसन्धान गरिरहेको छ। उद्वार गरिएका युवतीहरु अहिले आफन्त नेपालको गृहमा छन्। निशेषाज्ञाको समयमा पनि मानव बेचबिखन नरोकिएको आफन्त नेपालका निर्देशक ईन्द्रराज भट्टराईले बताए।
कोरोनाका कारण आधिकाशंले जागिर गुमाउनु परेकोले आर्थिक स्थिति कमजोर भएका युवतीहरुलाई पैसाको लोभ देखाउँदै मानव बेचबिखन जस्ता अपराधिक गतिविधि बढेको निर्देशक भट्टराईले बताए।