काठमाडौँ। काठमाडौँ महानगरपालिका–२२ न्युरोडबाट १५ जुवाडे रु १३ लाखभन्दा बढी रकमसहित पक्राउ परेका छन् ।
उनीहरुको साथबाट रु १३ लाख ४३ हजार नगद, कौडा र ताससमेत बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
विश्वव्यापी महामारीका रूपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा जारी निषेधाज्ञालाई अवज्ञा गरी अवैधरूपमा पूर्णलाल महर्जनको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ ।
उक्त घरको छैटौँ तलामा अजय श्रेष्ठले भाडामा लिएको कोठामा पैसाको बाजी लगाई जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा परिसर र वृत्त जनसेवाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको जनाइएको छ ।