काठमाडौं । सरकारले कोरोनाभाइरस संक्रमणको दोस्रो लहर नियन्त्रणमा रहेको भन्दै तेस्रो र चौथो लहरको चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको महामारीको दोस्रो लहर नियन्त्रणमा रहेको बताएको हो ।
पहिलो र दोस्रो लहरमा प्रौढ र युवा अत्यधिक संक्रमित भएको र सोहीअनुसारको व्यवस्था गरिएको भन्दै मन्त्रालयले अब तेस्रो र चौथो लहरले बालबालिका बढी संक्रमित हुन सक्ने भएकाले सबै सरकारी तथा निजी अस्पताललाई कम्तीमा २० प्रतिशत बेड तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।
शुक्रबार मन्त्रालयले सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई पत्राचार गरी बालबालिकाको उपचारमा प्रयोग हुने गरी स्वीकृत बेडमध्ये २० प्रतिशत बेड बालबालिका लागि तयारी अवस्थामा राख्न स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएको हो ।
साथै अस्पतालहरूलाई अक्सिजनको समेत व्यवस्थापन गर्न भनेको छ । कोरोनाभाइरस संक्रमण महामारीको पहिलो लहरलाई कम क्षतिमा नियन्त्रणमा लिएको सरकारले दोस्रो लहरको पूर्वतयारी नगर्दा उपचार नपाएरै धेरैले ज्यान गुमाएका छन् ।