भैरहवा। भैरहवाको भीम अस्पतालमा सेनाको जवानहरुलाई विश्राम गराएर माओवादी केन्द्रका कार्यकर्ताहरुले शव व्यवस्थापनको जिम्मा लिएका छन्।
अस्पतालले स्वास्थ्य सुरक्षा मापदण्ड शव व्यवस्थापनका लागि १६ जनाको टोली बनाइएको छ, टोलीको कमाण्ड जनमुक्ति सेनाका पूर्वलडाकु नेकपा (माओवादी केन्द्र) सिद्धार्थनगर कमिटिका इञ्चार्ज तिरबहादुर रोका (डार्विन) ले गरेका छन्। सहकमाण्ड सम्हालेका छन् माओवादीका सिद्धार्थनगर कमिटीका सहइञ्चार्ज नारायण हमालले। नेपाली सेनाले जस्तै गरि शवको दाहसंस्सकार अगाडि उनीहरुले सलामी दिन्छन्।
उनले नेपाली सेनाले शव ब्यवस्थापन गर्दा धेरै स्थानमा पुग्नु पर्ने हुँदा पालो कुर्नुपर्ने, एउटा मात्र शव नउठाउने र शव एकिकृत गरेर मात्र व्यवस्थापन हुने जस्ता समस्या देखेपछि आफूहरुले शव व्यवस्थापन कार्यमा लागेको बताए। २–३ शव जम्मा गरेरमात्र सेनाले व्यवस्थापन गर्न लैजाने, मृत्युका कारण पीडामा परेका आफन्त लामो समय कुर्नु पर्ने जस्तो जनगुनासो आएपछि हामीले सेनालाई पनि सहज होस् भनेर शव ब्यवस्थापनमा हात बढायौं।’ डार्विनले भने ।
पार्टी हेडक्वाटरले देशभरका कार्यकर्तालाई कोरोना संक्रमितको सेवामा र उनीहरुको सहयोगमा जुट्न निर्देशन दिए अनुसार भैरहवामा नगर कमिटी परिचारलन भएको माओवादी रुपन्देहीका सचिव निर्मल जीसीले बताए। उनले शव व्यवस्थापन सेनाले निशुल्क गरेपनि गन्तब्यसम्म शव बोक्ने शव बहान र गाडीहरुले चर्को रकम असुल्न थालेपछि पार्टीले त्यसलाई न्युनिकरण गर्नका लागि पनि आफै खट्ने निर्णय गरेको जीसीले बताए।
औपचारिकता अपनाएर प्याक गरिदिएको शव दाहसंस्कार स्थल सम्म पु¥याईदिन्छन् र मृतकका आफन्तको चलन चल्ती अनुसार अन्त्यस्छीमा सहघाउँछन्। फरक यत्ती छ नेपाली सेनाले मुट्ठी फिँजाएर सलामी दिने गर्दथ्यो भने माओवादी कार्यकर्ताहरुले मुट्ठी बाँधेर लालसलाम गर्ने गर्दछन्।
भिम अस्पतालमा मृत्यु भएका सबैको शव व्यवस्थापनको जिम्मा माओवादीको सिद्धार्थनगर नगरकमिटीले लिएको छ। उनीहरु बिहानै देखि अस्पतालमा उपस्थित हुन्छन् र पीपीई लगाएर शव व्यवस्थापनका लागि तयारी अवस्थामा रहन्छन्। माओवादीले शव व्यवस्थापनसँगै अस्पतालमा भर्ना भएका संक्रमितहरुलाई बेसार, जुवानो र मसला पानीसहित अण्डा, सुप जस्ता पोषिलो खानेकुरा पनि वितरण गर्दै आएका छन्।